कोलोराडो । फेसबुक मार्केटप्लेसमार्फत सुन किन्ने सहमति गरेर भेट्न पुगेका एक व्यक्तिमाथि सेन्टेनियलमा आक्रमण गरी नगद र गहना लुटिएको छ । अरापाहो काउन्टी शेरिफ कार्यालयका अनुसार १९ वर्षीय लिन’नेभियन मार्शल (Lyn’Navion Marshall) र एक किशोरलाई बुधवार बिहान पक्राउ गरिएको हो ।
पीडितले फेसबुकमार्फत सुन खरिद गर्न ५ हजार अमेरिकी डलर नगद बोकेर पुगेका थिए । घरको पोर्च नजिक पुग्ने बित्तिकै झाडीबाट निस्किएका ३–४ जनाले बन्दुक देखाएर उनीमाथि आक्रमण गरेका थिए । उनीहरूले नगद रहेको झोला लुट्नुका साथै बन्दुकको बटले अनुहारमा प्रहार गरेका थिए । त्यसपछि उनीहरूले करिब ६ हजार डलर मुल्यको सुनको चेन र ब्रेसलेटसमेत खोसेका थिए
नजिकैको घरको सुरक्षा क्यामेरामा घटनाको दृश्य कैद भएको छ । भिडियोमा शंकास्पद व्यक्तिहरूले आफ्नो गाडी प्रयोग गरेर पीडितको बाटो छेकिएको र एक जनाले पीडितको गाडीतर्फ धेरै पटक गोली चलाएको देखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा घटनामा प्रयोग गरिएको गाडी अघिल्लो रात अरोरामा भएको सशस्त्र कारज्याकिङबाट चोरी भएको भेटिएको थियो । पक्राउ परेका मार्सलको साथबाट सुनको चेन, कारज्याकिङका पीडितका बैंक कार्ड, स्वास्थ्य बिमा कार्ड र कालो स्की मास्क बरामद गरिएको प्रहरीले जनाएको छ ।
मार्सलविरुद्ध यसअघि पनि डकैती, कारज्याकिङ, सवारी चोरी र कुटपिटसम्बन्धी आपराधिक मुद्दाहरू रहेको जनाइएको छ ।

घटनाबारे थप जानकारी भएका व्यक्तिलाई अरापाहो काउन्टी शेरिफ कार्यालयले **३०३-७९५-४७११** नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend