मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

एनआरएनए एकता महाधिवेशन मार्चमा

एनआरएनए एकता महाधिवेशन मार्चमा

57
Shares
57
Shares

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले १२ औँ महाधिवेशनको नयाँ मिति तय गरेको छ। शुक्रवार बसेको कमिटीको सातौँ बैठकले यसअघि फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर आगामी मार्च १४ देखि १६, २०२६ सम्म आयोजना गर्ने अन्तिम निर्णय गरेको हो ।

महासचिव गौरीराज जोशीद्वारा सञ्चालित बैठकले महाधिवेशनको मिति मात्र नभई सदस्यता नवीकरण, मर्जर र व्यवस्थापनका विषयमा समेत महत्वपुर्ण निर्णयहरू गरेको छ।

बैठकले १२ औँ महाधिवेशन काठमाडौँस्थित होटेल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको छ। यसअघि नै टेन्डर प्रक्रियाबाट छनोट भइसकेको ‘भोग एड एण्ड इभेन्ट म्यानेजमेन्ट’ कम्पनीले नै महाधिवेशनको व्यवस्थापन गर्नेछ। नयाँ मितिका लागि होटेल र इभेन्ट कम्पनीसँग सचिवालयमार्फत पुनः सम्झौता प्रक्रिया अघि बढाइने भएको छ।

संघले नयाँ सदस्यता लिन चाहने वा छुटेकाहरूका लागि आवेदन दिने म्याद जनवरी २५, २०२६ सम्म विस्तार गरेको छ।

समानान्तर रूपमा रहेका एनसीसीहरूले अन्य पोर्टलमार्फत बनाएका सदस्यहरूको विवरण पनि सोही मितिभित्र बुझाइसक्नुपर्नेछ। यसको समन्वय महासचिव बी. आर. लामा र अध्यक्ष महेश कुमार श्रेष्ठले गर्नेछन्। मे २०२५ को एकता महाधिवेशनका सदस्य र नयाँ प्राप्त विवरणहरूलाई ‘मर्ज’ गरी डकुमेन्ट भेरिफिकेसनपश्चात् जनवरी ३१ भित्र अन्तिम सदस्यता नामावली सार्वजनिक गरिनेछ।

बैठकले अझै पनि समानान्तर रूपमा रहेका एनसीसीहरूसँग स्टेरिङ कमिटीले सिधै संवाद गरी एकताको वातावरण बनाउने निर्णय गरेको छ। निर्वाचन प्रक्रियाका कानुनी जटिलता सुल्झाउन दुवै पक्षका कानुनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरिने संघले जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend