बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सचिन र भावनालाई एनआरएनएको पूर्ण छात्रवृत्ति, ६ बर्ष एमबीबीएस पढ्न पाउने

सचिन र भावनालाई एनआरएनएको पूर्ण छात्रवृत्ति, ६ बर्ष एमबीबीएस पढ्न पाउने

76
Shares
76
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनएए) र एसियन इन्टरनेशनल युनिभर्सिटीबीच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा भएको समझदारीको औपचारिक रूपमा घोषणा गरिएको छ ।

विहीबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनओ सम्मेलनको अवसरमा भएको उक्त सहकार्यलाई कार्यान्वयन गर्दै योग्य नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस छात्रवृत्ति औपचारिक रूपमा घोषणा गरेको हो ।

यस कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगद्वारा लिइएको साझा प्रवेश परीक्षा (सिईई) २०८२ मा उत्तीर्ण भएका, शैक्षिक रूपमा सक्षम तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूमध्ये एनआरएनए र एसिया इन्टरनेशनल युनिभर्सिटीद्वारा आयोजित एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।
साथै, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका वडा नं. ६ निवासी भुद्दर कोहारका नाति तथा माधव प्रसाद कोहारका छोरा २१ वर्षीय सचिन कुमार प्रजापति तथा बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १८ निवासी ईश्वरी दत्त रेग्मीकी नातिनी तथा यमुना रेग्मीकी छोरी २१ वर्षीया भावना रेग्मी रहेका छन् ।

एमबीबीएस छात्रवृत्ति अन्तर्गत शैक्षिक, होस्टल, भोजन, बीमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एक पटकका लागि) एसिया इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ ।

अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च सम्बन्धित विद्यार्थी स्वयंले व्यहोर्नुपर्नेछ ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसिया इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई (२) वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ । ६ वर्षे एमबीबीएस कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराइएको हो ।

घोषणा समारोहमा अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा.बद्री केसी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, छात्रबृत्ति पाउने विद्यार्थी, अभिभावकलगायतले आफ्नो धारणा राखेका थिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend