कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) भन्नाले आधुनिक प्रविधिको एक महत्वपुर्ण उपलब्धि हो, जसले मानव बौद्धिक क्षमतालाई अनुकरण गर्दै सोच्न सक्ने, सिक्न सक्ने, निर्णय गर्न सक्ने, र समस्या समाधान गर्ने क्षमता राख्ने प्रणालीलाई जनाउँछ। आजको डिजिटल युगमा AI ले स्वास्थ्य, व्यापार, सञ्चार, कृषि, सुरक्षा, र विशेष गरी शिक्षा क्षेत्रमा गहिरो प्रभाव पारेको पाइन्छ। यस लेखमा मैले AI के हो, यसको प्रमुख प्रयोगहरू, तथा शिक्षामा पर्ने सकारात्मक र नकारात्मक प्रभावहरूको समग्र विश्लेषण गर्ने प्रयास गरेको छु। केही अनुसन्धानात्मक लेखहरूको अध्ययन गरे पश्चात् यो लेख प्रस्तुत गर्ने कोसिस गरेको छु।
आउनुहोस् अब एकै छिन कृत्रिम बुद्धिमत्ता (AI) के हो? भन्नेबारे चर्चा गरौँ ।
AI भनेको एक कम्प्युटर प्रणाली हो जसको क्षमतद्वरा मानवजस्तै सोच्न, तर्क दिन, सिकाइ प्रदान गर्न र निर्णय प्रक्रिया अपनाउन सक्दछ। यसका प्रमुख शाखाहरूमा Machine Learning, Deep Learning, Natural Language Processing, Computer Vision, र Robotics पर्दछन्। AI प्रणालीहरू डेटा विश्लेषण, ढाँचाको पहिचान, भविष्यवाणी, र स्वचालित निर्णयहरूमा सक्षम हुन्छन्।
AI को प्रयोग आज लगभग सबै क्षेत्रमा फैलिएको पाइन्छ। स्वास्थ्य क्षेत्रमा रोगको पहिचान गर्न, मेडिकल इमेजिङ, र औषधि विकासमा AI को प्रयोग भइरहेको देखिन्छ। व्यापार र उद्योगमा ग्राहक सेवा, बजार विश्लेषण, आपूर्ति व्यवस्थापन, र स्वचालनमा यसको भूमिका निकै महत्वपूर्ण बन्दै गएको पाइन्छ। सञ्चार क्षेत्रमा भाषान्तरण, आवाज पहिचान, र सामग्री सिफारिस प्रणालीहरू AI मा आधारित छन्। शिक्षा क्षेत्रमा व्यक्तिगत सिकाइ, मूल्याङ्कन, र शैक्षिक सामग्री विकासमा AI को प्रयोग तीव्र रूपमा बढिरहेको तथ्यहरू भेटिन्छन्।
शिक्षा क्षेत्रमा AI ले परम्परागत शिक्षण पद्धतिमा निकै महत्वपूर्ण परिवर्तन ल्याएको छ। Adaptive Learning System मार्फत विद्यार्थीको क्षमता र गति अनुसार पाठ्य सामग्री प्रदान गर्न यस प्रणालीले मदत गरेको छ। AI आधारित ट्युटरहरूले विद्यार्थीलाई व्यक्तिगत सहयोग प्रदान गर्दछन्। अनलाइन मूल्याङ्कन, स्वचालित ग्रेडिङ, र सिकाइ विश्लेषणले शिक्षकको कार्यभार निकै कम गरेको पाइन्छ।
शिक्षामा AI का सकारात्मक प्रभावहरू भने केही अवश्य नै छन्। आउनुहोस् अब AI को सकारात्मक पक्षलाई केलाऊ।
पहिलो सकारात्मक पक्ष भनेको AI को प्रयोगले व्यक्तिगत सिकाइ (Personalized Learning) प्रभावकारी ढङ्गबाट सम्भव भएको पाइन्छ। AI ले विद्यार्थीको कमजोरी र बलियो पक्ष पहिचान गरी आवश्यक सामग्री सिफारिस गर्दछ।
दोस्रो, पहुँच र समावेशिता बढेको छ। दृष्टि वा श्रवण अपाङ्गता भएका विद्यार्थीका लागि Text-to-Speech र Speech-to-Text जस्ता प्रविधि उपयोगी देखिन्छ।
तेस्रो, शिक्षकको कार्यक्षमता वृद्धि भएको छ। प्रशासनिक काम स्वचालित हुँदा शिक्षकले सिर्जनात्मक शिक्षणमा ध्यान दिन पर्याप्त समय प्राप्त गर्न सक्छन्।
चौथो, जीवनपर्यन्त सिकाइ (Lifelong Learning) लाई AI प्रविधिको विकासले सकारात्मक प्रोत्साहन मिलेको पाइन्छ र साथै अनलाइन प्लेटफर्महरूले विश्वव्यापी ज्ञानमा पहुँच दिएका देखिन्छ।
अब शिक्षामा AI का नकारात्मक प्रभावहरू कस्ता छन् त? यो प्रश्नको जवाफलाई पनि एकै छिन निहालौँ।
यद्यपि AI का फाइदासँगै केही चुनौतीहरू पनि छन्। पहिलो, डेटा गोपनीयता र सुरक्षा निकै जोखिमपूर्ण मानिन्छ। विद्यार्थीको व्यक्तिगत डेटा दुरुपयोग हुने सम्भावना उच्च रहन्छ।
दोस्रो, अत्यधिक निर्भरता (Overdependence) को समस्याले सिकाइमा आलस्यता ल्याउन सक्छ। AI मा अत्यधिक निर्भर हुँदा आलोचनात्मक सोच कमजोर हुन सक्छ।
तेस्रो, डिजिटल विभाजन (Digital Divide) बढ्न सक्छ। सबै विद्यार्थीलाई समान प्रविधि पहुँच नहुन सक्छ।
चौथो, शैक्षिक इमानदारीमा चुनौती आउँछ र AI द्वारा तयार गरिएका सामग्रीले plagiarism र मूल्याङ्कनको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको पाइन्छ।
अब AI को नैतिक र नीतिगत पक्ष कस्तो हुनुपर्दछ भन्ने कुरा बुझ्न अति आवश्यक र महत्वपूर्ण देखिन्छ। AI को प्रयोगसँगै नैतिकता र नीतिगत स्पष्टता आवश्यक छ। पारदर्शिता, उत्तरदायित्व, र मानव नियन्त्रण कायम राख्न नीति निर्माण आवश्यकता स्पष्ट देखिन्छ। त्यसैले शिक्षामा AI सहायक उपकरणको रूपमा प्रयोग हुनुपर्छ, प्रतिस्थापनको रूपमा होइन।
अन्त्यमा भन्नु पर्दा कृत्रिम बुद्धिमत्ता भविष्यको अपरिहार्य प्रविधि हो। शिक्षामा यसको प्रयोगले सिकाइलाई प्रभावकारी, समावेशी, र आधुनिक बनाएको छ। तर, यसको नकारात्मक पक्षलाई बेवास्ता गर्न भने पटक्कै मिल्दैन। सन्तुलित, जिम्मेवार, र नैतिक प्रयोगमार्फत AI ले शिक्षाको गुणस्तर सुधार गर्न महत्वपुर्ण योगदान दिन सक्छ। 
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend