लन्डन — गत साता लन्डनको एजवेयरस्थित आफ्नै कोठामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको सम्झनामा आयोजित श्रद्धाञ्जलि सभामा परिवार, साथीभाइ, समुदायका अगुवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले भावपुर्ण विदाइ दिएका छन् ।
बिहीबार अपरान्ह केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा आयोजित सभामा स्व. चन्दप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङले उच्च अध्ययनका सपना बोकेर बेलायत आएका योमनको असामयिक निधन परिवार मात्र होइन, नेपाली समुदायकै ठुलो क्षति रहेको बताए। उनले परिवारको आग्रहअनुसार शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।
बर्न्टओक नेपाली समाजका उपाध्यक्ष मुरारी थापाका अनुसार छोटो समयमै विभिन्न व्यक्तिहरू तथा संघ–संस्थाबाट करिब २० हजार पाउन्ड (झन्डै ३७ लाख रुपैयाँ) बराबरको सहयोग संकलन गरिएको छ । एम्पल इन्टरनेशनल एजुकेशनका निर्देशक प्रमोद अधिकारीले सन २०१० मा आफैँ पनि विद्यार्थीका रूपमा बेलायत आएको स्मरण गर्दै योमनको निधनले आफुहरू अत्यन्त मर्माहत बनेको बताए। उनले कठिन घडीमा नेपालीले नेपालीलाई साथ दिनुपर्ने बताउँदै सहयोगी सबैलाई कृतज्ञता व्यक्त गरे ।
एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपाली समाजको परम्परा नै दुख–सुखमा एकअर्कालाई साथ दिने रहेको उल्लेख गर्दै शव नेपाल पठाउन पारदर्शी रूपमा सहयोग संकलन गरिएको जानकारी दिए। उनले बर्न्टओक नेपाली समाज, हार्लो नेप्लिज कम्युनिटी, नेप्लिज ब्रिटिश कम्युनिटी, राप्ती समाज युके, ठकुरी समाज युके, एनआरएनए स्कटल्याण्ड, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका विद्यार्थी, सुदुरपश्चिम विद्यार्थी समाज लगायत सबै सहयोगीलाई धन्यवाद दिए ।
कार्यक्रममा सुषमा गुरुङ, दीपक राई लगायतले स्व. चन्दप्रति भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्ति कामना गरे । सभा एक मिनेट मौनधारणसँग सुरु गरिएको थियो । परिवारको तर्फबाट बोल्दै दाजु सुजन शाहले बेलायतस्थित नेपाली समुदायले देखाएको माया, साथ र सहयोगप्रति गहिरो आभार व्यक्त गर्दै अप्ठ्यारो घडीमा पनि आफुहरूले परदेशमा रहेको अनुभुति गर्न नपरेको बताए। उनले योमन चन्दको आत्माको शान्तिको कामना गर्दै सबै सहयोगीप्रति कृतज्ञता व्यक्त गरे ।
श्रद्धाञ्जलि सभामा लन्डन बरो अफ बार्नेटका पूर्व डेपुटी मेयर काउन्सिलर लक्ष गुरुङ, एनआरएनए प्रवक्ता श्याम लुइटेल लगायत समुदायका अगुवाहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बीबीसीका पुर्व पत्रकार तथा राप्ती समाज युकेका सल्लाहकार भगीरथ योगीले गरेका थिए ।
सल्यानको दार्मा गाउँपालिका–३ का २६ वर्षीय योमन चन्द एक वर्षअघि अध्ययनका लागि बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनरत थिए र पढाइ पुरा गरी गत साता नै प्रमाणपत्र लिने तयारीमा थिए । उनको शव शुक्रबार कतार एयरवेजमार्फत काठमाडौँ ल्याइने र त्यसपछि सल्यानस्थित जन्मगाउँमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend