नागोया । नेपथ्यको जापान यात्रा २०२५ अन्तर्गत पहिलो कन्सर्ट नागोयामा धमाकेदार रूपमा सम्पन्न भएको छ। गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत सुरु गर्दै गर्दा दर्शकहरूको उत्साह उफ्रिएको देखिन्थ्यो। रङ्गीविरङ्गी बत्तीका झिलिमिलीबीच दुई घण्टा चलेको कन्सर्टभर माहोल रोमाञ्चक रह्यो।
हालै पोखरामा १० हजारजति दर्शकमाझ प्रस्तुति दिएर जापान उत्रिएको नेपथ्यलाई नागोयामा पहिलो पटक झनै गर्मजोशी स्वागत मिल्यो। औद्योगिक तथा ठुलो नेपाली जनसङ्ख्या भएको यो सहरमा बुलेट ट्रेनमार्फत टाढाटाढाबाट नेपालीहरू कन्सर्ट हेर्न आएका थिए।
इलामबाट १० वर्षअघि जापान आएकी मन्जिता राई पहिलोपटक कन्सर्ट अनुभव गर्न सिजोउकाबाट डेढ घण्टा यात्रा गर्दै पुगेकी थिइन्। उनका अनुसार, “कल्पना गरेभन्दा धेरै गुणा राम्रो कन्सर्ट रहेछ, एकदमै आनन्द आयो।”
नागोयामा नेपाली समुदाय सक्रिय रहेको छ—५० भन्दा बढी नेपाली रेस्टुरेन्ट, वार्षिक ‘नेपाल फेस्टिवल’, र स्थानीय क्रिकेट प्रतियोगितामा समेत नेपाली सहभागिता उल्लेखनीय छ। अध्ययनका लागि आएका युवाहरू पनि कन्सर्टमा उत्साहका साथ सहभागी बनेका थिए। २६ वर्षीय विवेक पुरीका लागि त यो अनुभव आठ वर्षअघिको बुटवलको कन्सर्ट सम्झाउने क्षण बन्यो।
कन्सर्टभर अमृत गुरुङले गीतसँगै दर्शकसँग संवाद राखे। विदेशमा बसे पनि भाषा, संस्कृतिसँग जडित रहन सबैलाई आग्रह गरे। ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्दा उनले नेपालमा स्कुल नपुगेका बालबालिकालाई सहयोग गर्ने अपिल पनि गरे। कन्सर्ट ‘रातो र चन्द्रसुर्जे’ गीतसँगै सम्पन्न भयो।
पहिलो पटक लाइभ कन्सर्ट हेर्दै नेपालीपन महसुस भइरहेको भन्दै २३ वर्षीया नर्सिङ विद्यार्थी स्वस्तिका लामाले आफू भावुक बनेको बताइन्।
‘नागोया लाइभ्स’ हलमा अमृतलाई ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) ले साथ दिएका थिए। आयोजक टिमका योमन देवानका अनुसार, “बच्चादेखि बुढासम्म हुल बाँधेर यत्तिको रमाइलो गरेको यो पहिलोपटक हो।”
नागोयाको सफलतापछि १४ सदस्यीय नेपथ्य टोली अब टोकियोतर्फ लाग्दैछ। १८ नोभेम्बरमा ‘टोकियो डोम सिटी हल’ मा ब्यान्ड दोस्रोपटक प्रस्तुति दिनेछ भने नोभेम्बर २४ मा ओसाकामा कन्सर्ट हुनेछ। जापानभरका कन्सर्ट टिकट अनलाइनमै उपलब्ध छन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend