अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनली (Stoneleigh) मा भएको भीषण सवारी दुर्घटनामा चितवनका एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१ बर्सिया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् ।
दुर्घटना त्यति बेला भएको थियो जब उनीहरू सवार कारलाई मालवाहक ट्रकले ठक्कर दिएको थियो। ठक्कर यति शक्तिशाली थियो कि तिनै जनाको घटनास्थलमै मृत्यु भयो।
सोही कारमा सवार ती दम्पतीकी आमा (हजुरआमा) भने गम्भीर घाइते भएकी छन्। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर नजिकको अस्पतालमा भर्ना गरिएको भिक्टोरिया प्रहरीले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार उनको अवस्था हाल स्थिर भए पनि निरन्तर निगरानीमा राखिएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार सब–बेवाट मुख्य सडकमा निस्कँदै गर्दा मालवाहक ट्रकले कारलाई ठक्कर दिएको जनाइएको छ। ट्रक चालक सामान्य रूपमा घाइते भएका छन्। परिवारका अन्य सदस्यहरू अर्को सवारीमा केही दूरी पछाडि थिए र दुर्घटनाबारे पछि मात्रै जानकारी पाएका थिए।
भिक्टोरियाका वाणिज्यदूत नीराजन गौलीले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै यसलाई अत्यन्त पीडादायक भनेका छन्। उनले तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक महिलाको उपचार भइरहेको पुष्टि गरे।
त्यसै गरी, गैर आवासीय नेपाली संघ (एनआरएन) भिक्टोरियाका संयोजक महादेव धानुकले घाइतेको उपचार र पीडित परिवारलाई सहयोगका लागि संघ सक्रिय रहेको बताएका छन्।
भिक्टोरिया प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend