दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा परेको हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र ४ जना घाइते भएका छन्।
१५ जनाको टोली कार्तिक ११ गते आरोहणका लागि गौरीशंकर गाउँपालिका–९ मा पुगेको थियो। सोमबार बिहान ४ बजे बेसक्याम्पबाट प्रस्थान गरेको टोली करिब ८ बजे ५,६३० मिटर उचाइको यलुङ रि हिमालको शिखर पुग्नै लाग्दा हिमपहिरोमा परेको हो।
मृतक मध्ये ५ जना विदेशी र २ जना नेपाली रहेका छन्। हालसम्म फ्रान्सका आरोही क्यारोल फुचसको नाम खुलिसकेको छ। बेपत्ता हुनेमा नेपाली गाइड पदम तामाङ, इटलीका पाउलो कोको र क्यानडाका मार्कोस डी मार्सेलोस छन्। घाइतेमध्ये नेपाली गाइड निमाग्याल्जेन शेर्पाको पहिचान खुलेको छ।
गौरीशंकर गाउँपालिका–९ का वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार स्थानीयवासीले घटनास्थलबाट प्रारम्भिक जानकारी दिएका छन् । दोलखा प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले बेपत्ता र घाइतेको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।
उद्धारका लागि नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरीका १० जना र नेपाल प्रहरीले ५ जनाको टोली सोमबार दिउँसो लामा बगरबाट घटनास्थलतर्फ प्रस्थान गरेको सेनाका गणपति कर्णेल लोक सागर कटुवालले बताउनुभएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend