दोहा — राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई युवा पुस्ताको आन्दोलनको प्रमुख उपलब्धि बताएका छन्। उनले यो निर्वाचन नेपालको विकास र भाग्य निर्धारण गर्ने अवसर भएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरे।
कतारको दोहास्थित नेपाली दुतावासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र विकासका लागि आन्दोलन गरेको र त्यसकै परिणामस्वरूप संविधान र प्रणाली जोगाउन सकिएको बताए। उनले कतारको प्रविधि र विकासको अनुभव नेपालमा प्रयोग गर्न नेपाली समुदायलाई आग्रह गरे।
राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका हुन्। सम्मेलनमा उनले कात्तिक १८ गते मुख्य सत्र सम्बोधन गर्ने र कतारका अमिर शेख तमिम बिन हमद अल थानीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणपछि उनी कात्तिक २० गते स्वदेश फर्किनेछन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend