बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न

महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न

70
Shares
70
Shares

काठमाडौँ । विश्वकै पहिलो कृषि रियालिटी गेम सो र: रिभोलुशनरी एग्रीकल्चर वारद्वारा आयोजित असार १५, धान दिवसको अवसरमा महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम गोदावरीको लेलेमा सम्पन्न भएको छ।

गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी ली.को सहकार्यमा आयोजित कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी ली.का प्रबन्ध निर्देशक भरत राज ढकाल, इसीमोडबाट डा.टासी शेर्पा, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, वडा नं १० का अध्यक्ष शेखर न्यौपाने र कार्यपालिका सदस्य उमा महत लगायत विभिन्न सङ्घ-संस्थाहरुबाट प्रतिनिधिहरू, पत्रकार, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय स्तरबाट धिमेबाजा तथा स्थानीय संस्कृति झल्किने गीत, असारे गीत तथा नृत्य प्रदर्शन गरिएको थियो।

कार्यक्रमबारे बोल्दै कृषि रियालिटी सो रका परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीले किसानलाई सेलीब्रीटी बनाउने तथा कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने उद्देश्यले अगाडि बढेको कृषि रियालिटी शोले प्रत्येक वर्ष असार १५ मा देशको विभिन्न स्थानमा धान दिवस मनाउने तथा मनोरञ्जन मार्फत जागरण फैलाउने उद्देश्य बोकेको जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै रियालिटी शोका महाहोस्ट तथा महानायक राजेश हमालले हामीले आफ्नो पृष्ठभूमि तथा कृषिको महत्त्व बिर्सिन थालेको, युवाहरू पलायन हुन थालेको जसको फलस्वरूप देश खाद्यान्नमा परनिर्भर हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो। रोपाइँमा, टग अफ वार खेल लगायतका विभिन्न गतिविधिमा संलग्न भई महानायक राजेश हमालले सबैको हौसला बढाउनु भएको थियो।

त्यसै गरी मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकालले युवाहरूलाई कृषि क्षेत्रमा संलग्न गराउन यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने तथा अब परम्परागत कृषि भन्दा माथि उठेर प्रविधिको प्रयोग गरी कृषि क्षेत्रलाई उकास्न सकिने बताउनु भएको थियो। कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्राविधिक टोलीले ड्रोन मार्फत तरल मल छर्ने प्रविधि प्रदर्शन पनि गरेको थियो।

कार्यक्रमबारे बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले देश विकासमा टेवा पुर्‍याउन कृषि तथा पशुपन्छी विकासमा गोदावरी नगरपालिकाले विशेष पहल गर्दै गरेको तथा आगामी आर्थिक वर्षमा थप पहल गर्ने जानकारी गराउनु भयो।

गत वर्ष असार १५ कै दिन ललितपुरको खोकनामा एक विशेष कार्यक्रम गरी कृषि रियालिटी गेम सो रको आवेदन आह्वान गरिएको थियो। कार्यक्रममा देशभरिको ७७ वटै जिल्लाहरूबाट १६८२ जनाले आवेदन दिएका थिए। जसमध्ये शीर्ष १०० जनालाई व्यक्तिगत अन्तरवार्ता चरण, तालीम तथा जनसम्पर्क विस्तार जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूमा समावेश गरिएको थियो। शीर्ष १०० बाट शीर्ष १२ किसान तथा शीर्ष १२ कृषि प्राविधिकहरूको सहभागिता रहेको कार्यक्रमको ६ वटा एपिसोडको छायाङ्कन शंखरापुर नगरपालिकाको कात्तिकेमा सम्पन्न भएको थियो ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend