पोर्चुगल । वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपाली युवा एक सातादेखि सम्पर्कविहीन भएका छन् ।
तनहुँ भानु नगरपालिका–९ पिपलपानीका ३४ वर्षीय जितेन्द्र पाण्डे गत सोमबारदेखि लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट बेपत्ता भएका हुन् । पाण्डेका साथी विदुर तामाङका अनुसार, आइतबार राति साथीको फोन आएपछि पाण्डे बाहिर गएका थिए, तर त्यसयता उनी काममा वा कोठामा फर्किएका छैनन् र सम्पर्कमा पनि छैनन् ।
सोमबार पाण्डे काममा नआएपछि सहकर्मीहरूले उनको कोठामा खोजतलास गर्दा महत्त्वपुर्ण व्यक्तिगत सामानहरू, रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानी, सबै कोठाभित्रै भेटिएको थियो ।
क्रोएसिया हुँदै करिब दुई वर्षअघि पोर्चुगल पुगेका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए । नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी रहेका पाण्डे बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ ।
स्थानीय प्रहरीलाई खबर गरिएसँगै खोजी कार्य जारी रहेको उनका साथीहरूले बताएका छन्। पोर्चुगलस्थित नेपाली राजदुत प्रकाशमणि पौडेलले पनि दुतावासले प्रहरी प्रशासनसँग समन्वय गरी खोजीको प्रयास सुरु गरिसकेको जानकारी दिएका छन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend