काठमाडौँ । नेपाली कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र इतरपक्षबीच विवाद चुलिएको छ ।
केन्द्रीय कार्यसमितिमा दुई तिहाइको बहुमत रहेको संस्थापन पक्ष मंसिरमा नभई वैशाखमा मात्रै नियमित महाधिवेशन गराउने पक्षमा छ। यता, इतरपक्षले भने मंसिरभित्रै महाधिवेशन हुनुपर्ने माग गर्दै नभए विशेष महाधिवेशनको माग गर्ने र त्यसको सुनुवाइ नभए महाधिवेशन प्रतिनिधिको छुट्टै राष्ट्रिय सम्मेलन (भेला) बोलाउने चेतावनी दिएको छ।
युवा नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनको मागलाई गम्भीरतापूर्वक नलिए केन्द्रीय कार्यसमितिले नबोलाए पनि आफूहरूले नै भेला बोलाउन बाध्य हुने बताएका छन्। पार्टी विधानमा ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग भए तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
यसअघि, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा निवेदन दर्ता भइसकेको छ। महामन्त्री गगनकुमार थापाले समेत मंसिरभित्रै नियमित महाधिवेशन गराउने दुईवटा विकल्पसहितको कार्यतालिका सार्वजनिक गरेका छन्।
संस्थापन पक्ष केन्द्रीय कार्यसमितिको म्याद थपेर निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने योजनामा रहेको देखिन्छ। १३ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक फेरि बस्दैछ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend