बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

लन्डन–काठमाडौं सिधा हवाई उडानका लागि ब्रिटिश सांसदको हस्ताक्षर अभियान

लन्डन–काठमाडौं सिधा हवाई उडानका लागि ब्रिटिश सांसदको हस्ताक्षर अभियान

43
Shares
43
Shares

लन्डन । बेलायतको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन (ब्रिटेन) र काठमाडौंबीच सिधा हवाई उडान सुरु गर्न माग गर्दै एक औपचारिक हस्ताक्षर अभियान (पिटिशन) थालेका छन् ।

लन्डनको ह्यारो वेष्टबाट चौंथो पटक निर्वाचित सांसद ग्यारथले बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सशक्त माग बमोजिम यो अभियान सुरु गरेका हुन् ।

नेपाली समुदायको महत्त्व र हालको कठिनाइ
सांसद ग्यारथले आफ्नो पिटिशनमा उल्लेख गरेका छन्, ‘युनाइटेड किङ्डममा रहेको नेपाली समुदाय बेलायतको सबैभन्दा छिटो बढ्दै गरेका र जीवन्त प्रवासी समूहहरूमध्ये एक हो । ऐतिहासिक रूपमा गोर्खा सैनिकहरूको योगदानले बेलायत र नेपालबीचको सम्बन्ध गहिरो बनेको छ ।’ उनले आज पनि यो समुदायले नेपालसँग बलियो पारिवारिक, सांस्कृतिक र आर्थिक सम्बन्ध कायम राखेको बताएका छन् ।

हाल लन्डन र काठमाडौंबीच कुनै पनि नियमित सिधा व्यावसायिक हवाई उडान सञ्चालनमा छैन । जसका कारण यात्रुहरू (परिवार, विद्यार्थी, व्यवसायी, पर्यटक) ले लामो र खर्चिलो यात्रा गर्नुपर्छ । पिटिशनमा भनिएको छ, ‘धेरैजसो यात्रामा दुई वा तीन ट्रान्जिट गर्नुपर्दा कुल यात्राको समय १४ घण्टाभन्दा बढी पुग्ने गरेको छ, जसले ज्येष्ठ नागरिक र कमजोर यात्रुहरूका लागि थप कठिनाइ सिर्जना गरेको छ ।’

ब्रिटिश सरकारसँगको माग
ब्रिटिश–नेपाली समुदायले ब्रिटिश सरकार, यातायात मन्त्रालय र सिभिल एभिएसन अथोरिटीसँग तत्काल पहल गर्न आग्रह गरेका छन् । उनीहरूको मागमा ब्रिटिश एयरलाइन्स तथा लन्डनका प्रमुख विमानस्थलहरू (जस्तै हिथ्रो, ग्याटविक र स्टानस्टेड) को सहकार्यमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान विकल्पहरू खोजी गर्न र त्यसलाई सुनिश्चित गर्न भनिएको छ ।

सिधा उडानको फाइदा
सिधा हवाई उडान सुरु गर्न सकेमा बेलायत र नेपालबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुने, दुवै देशका लागि पर्यटन र व्यापारिक अवसरहरू विस्तार हुने अपेक्षा गरिएको छ । पिटिशनले सिधा उडानले हजारौँ ब्रिटिश–नेपाली परिवारका लागि पहुँच सहज हुने, यात्रुहरूको कठिनाइ घट्ने र वातावरणीय प्रभाव समेत घटाउने दाबी गरेको छ ।

व्यवहारिक चुनौतीहरू
यद्यपि, लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक विराज भट्ट, जो ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष पनि हुन्, यस पहललाई सकारात्मक मान्छन् तर यसको व्यवहारिक पक्ष सजिलो नभएको बताउँछन् ।

३० वर्षभन्दा बढीको ट्राभल क्षेत्रको अनुभव सुनाउँदै भट्ट भन्छन्, ‘हरेक एयरलाइन्सको कमर्सियल (व्यावसायिक) इन्ट्रेष्ट हुन्छ । तर, नेपालको मार्केट अस्थिर (भोलाटायल) छ । उडान शुरु गरेर टिकाउन सकिन्छ कि सकिन्न, एयरलाइन्सले मुख्य रूपमा त्यो हेर्छन् ।’ उनले ब्रिटिश एयरवेजले यसअघि बजार अनुसन्धान गरे पनि व्यावसायिक रूपमा सम्भाव्य (भायबल) नभएपछि अगाडि नबढेको जानकारी दिए ।

भट्टले नेपाल एयरलाइन्सले बजार विस्तारका क्रममा सातामा दुई दिनमात्र भएपनि उडान सुरु गर्न सके त्यो राम्रो हुने सुझाव दिएका छन् । Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend