काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले देशका पाँच प्रदेशमा अत्यावश्यक बाहेकका यात्रा नगर्न सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा आगामी चार दिनसम्म भारी वर्षा हुने सुचना जारी गरेपछि प्राधिकरणले उच्च सतर्कता अपनाउन यस्तो आग्रह गरेको हो।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरिएको छ।
प्राधिकरणले बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतराको तह आसपास पुग्न सक्ने अनुमान गरेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम:
बागमती प्रदेश: काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन र आसपासका साना नदीहरू।
कोशी प्रदेश: सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ र आसपासका क्षेत्र।
मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका नदीहरू।
प्राधिकरणले दिएका मुख्य निर्देशनहरू:
सकेसम्म यात्रा नगर्ने: अत्यन्त जरुरी नपरी घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
नदी किनार र पहिरो जोखिम क्षेत्र: नदी किनार र पहिरोको जोखिममा रहेका बस्तीहरूले उच्च सतर्कता अपनाउने।
सुरक्षित स्थानको जानकारी: डुबान हुने बस्तीका बासिन्दाले उँचो र सुरक्षित स्थानबारे आफैं जानकारी लिने र अरूलाई पनि जानकारी गराउने, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा सर्ने।
प्रशासनको निर्णय पालना: सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गर्न सक्नेछ, सो निर्णयको पालना गर्ने।
सुरक्षा निकाय तयारीमा: जोखिमयुक्त राजमार्गमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर जस्ता साधन तयारी अवस्थामा राख्न र तीनवटै सुरक्षा निकाय तथा स्थानीय तह लाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend