साउदी अरब । नेपाली राहदानी (पासपोर्ट) को दुरुपयोग गरी करिब २०० जना म्यानमारका नागरिक साउदी अरब पुगेको गम्भीर तथ्य बाहिर आएको छ । भिसाको अवधि सकिएपछि साउदी अध्यागमनले नियन्त्रणमा लिएका ती व्यक्तिहरू नेपाली नागरिक नभएको पुष्टि भएपछि यो रहस्य खुलेको हो ।
साउदी अरबस्थित नेपाली दुतावासका अनुसार, साउदी प्रशासनले ती व्यक्तिहरूलाई देश फिर्ता पठाउनका लागि ‘ट्राभल डकुमेन्ट’ बनाइदिन अनुरोध गरेको थियो । तर, दुतावासले अनुसन्धान गर्दा उनीहरू नेपाली नभई म्यानमारका नागरिक भएको प्रमाणित भएपछि ‘ट्राभल डकुमेन्ट’ जारी गर्न अस्वीकार गरेको छ ।
पक्राउ परेकामध्ये अधिकांश (करिब ९० प्रतिशत) ले हस्तलिखित राहदानी बोकेका छन् भने केहीसँग एमआरपी (मेसिन रिडेबल पासपोर्ट) समेत भेटिएको छ । यो घटनाले नक्कली नेपाली नागरिकता बनाएर राहदानी निकाल्ने ठुलो गिरोह सक्रिय रहेको आशंकालाई बलियो बनाएको छ ।
परराष्ट्र मन्त्रालयले यस गम्भीर विषयमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ। उता, साउदी प्रशासनले भने पक्राउ परेका व्यक्तिहरूलाई छिटोभन्दा छिटो फिर्ता पठाउनका लागि दूतावासलाई निरन्तर दबाब दिइरहेको छ। यो घटनाले नेपाली राहदानीको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविलाई समेत असर पार्न सक्ने देखिएको छ ।
Photo: AI
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend