मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

महतोमाथिको आक्रमण सम्पुर्ण एनआरएनमाथिको प्रहार हो: अध्यक्ष श्रेष्ठ

महतोमाथिको आक्रमण सम्पुर्ण एनआरएनमाथिको प्रहार हो: अध्यक्ष श्रेष्ठ

93
Shares
93
Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले संस्थापक अध्यक्ष उपेन्द्र महतोको निवासमा भएको आक्रमण सम्पुर्ण एनआरएन समुदायमाथिको प्रहार भएको बताएका छन् । गत भदौ २३-२४ को ‘जेन जी’ आन्दोलनका क्रममा क्षति पुर्‍याइएको महतो निवासमा बुधबार पुगेर अध्यक्ष श्रेष्ठले उक्त घटनाको निन्दा गर्दै ऐक्यबद्धता जनाएका हुन् ।

भेटका क्रममा अध्यक्ष श्रेष्ठले भने, “तपाईंको निवासमा भएको यो आक्रमण तपाई र तपाईको परिवारमाथि मात्र होइन, यो देश तथा विदेशमा रहेका हरेक नेपालीको सम्मान, सुरक्षा र आशामाथिको हमला हो ।” उनले एनआरएनबीचको एकता कमजोर हुँदा यस्ता आक्रमणहरू भएको भन्दै सम्पुर्ण गैरआवासीय नेपालीलाई एकताबद्ध हुन आग्रह गरे । यो घटनाले नेपालको सुरक्षा अवस्था कमजोर रहेको सन्देश दिएको र विदेशी लगानीमा समेत नकारात्मक असर पर्ने भन्दै उनले सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराए ।

सो अवसरमा पुर्वअध्यक्ष डा. शेष घलेले घटनाप्रति दुःख व्यक्त गर्दै हिम्मत नहार्न महतोलाई आग्रह गरे । उनले संस्थागत रूपमै एक भएर नेपालको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

संस्थापक अध्यक्ष महतोले आफुलाई व्यक्तिभन्दा पनि एनआरएन अभियानलाई कमजोर पार्ने मानसिकताबाट आक्रमण भएको बताए । उनले आफ्नो घरमा क्षति पुर्‍याउनेहरू ‘जेन जी’ नभई लुटेरा भएको भन्दै उनीहरुको पहिचान गरी कारबाही गर्न माग गरे । “यस पटक ममाथि आक्रमण भयो, अर्को पटक अरू साथीहरूलाई यस्तो नहोस्,” महतोले भने, “म नै पहिलो र अन्तिम पीडित हुन चाहन्छु ।”

भेटघाटमा एनआरएनएका पुर्व अध्यक्ष डा. शेष घले, अभियन्ता आरके शर्मा, उपाध्यक्ष खगेन्द्र न्यौपाने, महिला संयोजक रश्मि थापा लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend