काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालैको प्रदर्शनका क्रममा तोडफोड भएको सिंहदरबारस्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु गरेको छ।
एनआरएनएका उपाध्यक्ष मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ को नेतृत्वमा रहेको टोलीले शनिबारदेखि पुनर्निर्माणको काम थालेको हो। पुनर्निर्माण सुरु गर्नुअघि टोलीले प्रहरीका वरिष्ठ अधिकारीहरूसँग भेटेर त्यहाँको अवस्थाबारे जानकारी लिएको थियो।
यो ट्राफिक कन्ट्रोल रुम देशभरको ट्राफिक व्यवस्थापनको लागि महत्त्वपूर्ण मानिन्छ। यसको पुनर्निर्माणमा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन सबै खर्च एनआरएनएले नै व्यहोर्नेछ।

एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयका लागि उपाध्यक्ष गोर्खालीलाई जिम्मेवारी दिइएको छ। उनले सबै एनआरएन अभियन्तालाई यस्ता सामाजिक कार्यमा जुट्न आग्रह गरेका छन्। पुनर्निर्माणपछि यो ट्राफिक कन्ट्रोल रुम अझ आधुनिक र वैज्ञानिक बन्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend