कोलोराडो (अमेरिका) – अमेरिकाको कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ मा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समुदायका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वरिष्ठ समाजसेवी रामप्रसाद श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । त्यसपछि नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष वसन्त लम्सालले नवनिर्वाचित अध्यक्ष गंगा चौलागाईंलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष चौलागाईंले आफ्नो कार्यकालका प्रमुख प्राथमिकताहरू सार्वजनिक गर्दै नेपाली घरको भवनसँग सम्बन्धित बाँकी प्रशासनिक प्रक्रिया पुरा गरी सर्टिफिकेट अफ अक्युपेन्सि (Certificate of Occupancy) प्राप्त गर्ने, सभा हललाई आधुनिक बहुउद्देश्यीय सामुदायिक केन्द्रका रूपमा विकास गर्ने तथा युवा पुस्तालाई संस्थासँग जोड्न भलिबल कोर्ट निर्माण गर्ने योजना अघि सार्नुभयो ।
उहाँले नेपाली घरलाई पुर्ण रूपमा ऋणमुक्त बनाउन सम्पुर्ण समुदायको साझा प्रयास, आर्थिक सहयोग र एकताबद्ध सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबैलाई अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत शरदकुमार आरनले विदेशमा रहेका नेपाली समुदायका लागि एकता नै सबैभन्दा ठुलो शक्ति भएको बताउनुभयो । उहाँले संस्थागत विकासका लागि नयाँ पुस्तालाई नेतृत्व, सामाजिक गतिविधि र सामुदायिक सेवामा सक्रिय रूपमा सहभागी गराउनु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।

यस अवसरमा विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै नेपाली घरको संस्थागत सुदृढीकरण, पुर्वाधार विकास र ऋणमुक्त अभियानमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष वसन्त लम्सालले गर्नुभएको थियो । वर्तमान महासचिव राजु खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष भोला कटुवालले गर्नुभएको थियो । कार्यक्रमले नयाँ नेतृत्वप्रति समुदायको विश्वास, सहकार्य र नेपाली घरलाई अझ सशक्त सामुदायिक केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको आयोजकले जनाएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend