बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

च्यामासिंह–ताथली–नाला सडक निर्माण सम्पन्न नहुँदै ‘खण्डहर’, स्थानीयहरू आन्दोलित

च्यामासिंह–ताथली–नाला सडक निर्माण सम्पन्न नहुँदै ‘खण्डहर’, स्थानीयहरू आन्दोलित

स्थानीयहरूले सम्बन्धित निकाय घेर्नेदेखि आसपासका सडक समेत ठप्प पार्ने लगायतका कडा आन्दोलनको तयारी

141
Shares
141
Shares

काठमाडौँ । भक्तपुरको प्रमुख सडक मध्येको एक ‘च्यामासिंह–ताथली–नाला’ सडक बनिनसक्दै खण्डहर बन्दै गएपछि स्थानीयहरू आक्रोशित भएका छन् । आक्रोशित स्थानीयले उक्त सडकमा भइरहेको बेतिथिको विरोध गर्दै पुनः आन्दोलन थालेका छन् । उक्त सडकको विषयलाई लिएर यसअघि पनि चरण–चरणमा आन्दोलन भइसकेका छन् ।

सडकमै हस्ताक्षरसहित ‘कालो ब्यानर’ राखेर विरोध सुरु गरेका स्थानीहरुले वडा कार्यालय, नगरपालिका र प्रशासन कार्यालय घेर्नेदेखि आसपासका सडक ठप्प पार्नेसम्मका कडा आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको जनाएका छन् ।

लामो समय बितिसक्दा पनि उक्त सडकको केही भाग बनिसक्यो भने केही भाग बन्न बाँकी नै छ । अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको यो सडक झन्डै १३ वर्षअगाडि निर्माण सुरु गरिएको थियो ।

निर्माण भइरहेको अरनिको राजमार्ग छोडेर अहिले उक्त सडकबाट दैनिक सयौँको संख्यामा भाडा र निजी सवारीका साधनहरू गुड्ने गरेका छन् । त्यसले पनि सडक संरचनालाई थप कमजोर बनाएको स्थानीयहरू बत्ताउँछन् ।

यो सडकको हालको अवस्था हेर्दा ‘संकटमा परेको पूर्वाधार’ जस्तो देखिन्छ । यो सडक निर्माण सुरु देखि अहिलेसम्म ‘त्रुटि नै त्रुटि’ रहेको स्थानीयहरूले बताएका छन् । सडक अहिले ‘खण्डहर’ मा परिणत हुन थालेको स्थानीयहरुको गुनासो छ ।

ब्रम्हयानी चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठाले चौर, तल्लो र माथिल्लो छापलगायतका स्थानीय बढी प्रभावित भएका छन् । उक्त सडक क्षेत्रमध्ये सबैभन्दा सकस र दयनीय सडक खण्डको रूपमा पण्डित पधेरो रहेको छ । अन्य सडक खण्डमा पिच बनिसकेर उप्किसक्दा समेत उक्त सडक खण्डमा अहिलेसम्म पिच हुन सकेको छैन । केही समय अघि मुस्किलले एकतर्फी ढलान भएको थियो । कमजोर संरचनासहित उक्त एकतर्फी ढलान बाटो बनेपछि स्थानीय रुष्ट छन् ।

ठाउँ–ठाउँमा पिच उप्किएर प्रशस्तै खाल्डा खुल्डी भएको छ । वर्षाको समयमा हिलाम्मे र खाल्डा खुल्डीयुक्त उक्त सडकमा यात्रा गर्न समेत सकस भइरहेको छ । जसका कारण उक्त क्षेत्रमा सडक दुर्घटनासमेत बढेको छ । विगतको तुलनामा सडक दुर्घटना बढ्न थालेपछि स्थानीय युवाहरूको समूह ‘दक्षिणकाली युवा समूह’ ले सडक सचेतनाका कार्यक्रम गर्दै ठाउँ–ठाउँमा ‘सचेतना सडक बोर्ड’ समेत राखेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ९ मा रहेको उक्त सडक क्षेत्रको वेथितिमात्रै होइन यहाँका स्थानीयले भित्री सडकको दुरावस्था, अव्यवस्थित विद्युतीय पोल, सडक बत्तीको अभाव जस्ता नियति लामो समयदेखि झेल्दै आएका छन् ।

उक्त वडाका अन्य दर्जनौँ भित्री सडकको अवस्था च्यामसिंह–ताथली–नाला सडकसरह भन्दा झन् दयनीय छ । पिच नभएका अधिकांश भित्री सडकमा त साना सवारी साधन समेत आवत जावत गर्न कठिनाइ रहेको छ ।

यो नगरपालिकाका अन्य वडाको तुलनामा पूर्वाधार विकासमा निक्कै कमजोर वडा मानिन्छ । जनप्रतिनिधिहरूले आ–आफ्नो ‘स्वार्थ’ गाँसिएको ठाउँमा मात्रै विकासलाई प्राथमिकतामा राखेपछि यस्तो भएको स्थानीयहरूको आरोप छ । स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरू समेतलाई यस पटक कडाइको साथ ध्यानाकर्षण गराउने तयारी समेत थालेको स्थानीयहरु बताउँछन् ।

२०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको उक्त सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामांकरण गरिएको उक्त सडक २०६८ साल चैत १५ गते स्व. नेता गणेशमान सिंहले उद्घाटन गरेका थिए । उक्त सडक एसियाली विकास बैंक, ओएफआईडी, ओपेक लगायतका दातृ निकायसहित नेपाल सरकारको लगानीमा बिस्तार भएको थियो ।

प्रति किलोमिटर १ करोड २० लाख रुपैयाँ लागतमा बनेको यो सडक बनाएको तीन महिनामै उप्किने र चिरा पर्न थालेपछि निर्माण संलग्न प्राविधिक र निर्माण कम्पनीले तत्कालीन समयमा जनस्तरबाटै ठुलो विरोधको सामना गर्नुपरेको थियो । त्यसताका नेपाल मजदुर किसान पार्टी लगायतका दलहरूले सडक निर्माणमा देखिएको अनियमितताको छानबिन गर्न माग गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी समक्ष ज्ञापन पत्र बुझाएका थिए । जनताको गुनासो प्राविधिकहरूले ठेकेदारसँगको मिलेमतोमा बेवास्ता गरेको र गुणस्तर सुनिश्चित नहुँदा सरकारी रकम दुरुपयोग भएको जस्तो आरोप उक्त पार्टीको थियो ।

उक्त दुरावस्था सडकको विषयमा स्थानीयहरूले सबै राजनीतिक दलको प्रतिबद्धता र सहकार्य खोजिरहेका छन् । यो विषयमा राजनीतिक दलहरूले ‘पहलकदमीको लागि सहयोग गर्ने, मौन बस्ने अथवा स्थानीय सँगसँगै आन्दोलित हुने’ यसयसपटक परीक्षण समेत हुने स्थानीयहरूको भनाई छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend