कोलोराडो । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी मे २२ देखि २५, २०२६ सम्म अमेरिकाको कोलोराडो राज्यमा आयोजना हुने भएको छ। अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा सञ्चालन हुने यो चार दिने सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित बनाउन तयारी तीव्र गतिमा अघि बढाइएको छ।
विश्वका विभिन्न देशमा रहेका नेपाली साहित्यकार, स्रष्टा, समालोचक तथा साहित्यप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरिने यस सम्मेलनमा नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानका विविध आयाममाथि गहन छलफल, सिर्जनात्मक प्रस्तुति र अन्तरक्रिया हुने अपेक्षा गरिएको छ।
सम्मेलनको व्यवस्थापनलाई थप सुदृढ बनाउन अनेसासले आर्थिक समिति गठन गरेको छ। केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त उपसमितिमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश ढकाल, शान्ति भुषाल, शर्मिला शर्मा र सुशील दाहाल सदस्यका रूपमा रहेका छन्। उपसमितिले सम्मेलनका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन, पारदर्शी खर्च प्रणाली तथा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी सम्हाल्नेछ ।
अनेसासले सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरको साहित्यिक उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। आयोजक समितिले सहभागी हुन इच्छुक साहित्यकार तथा प्रतिनिधिहरूलाई तयारीमा जुट्न आह्वान गरेको छ। सम्मेलनले नेपाली साहित्यको प्रवर्द्धन र विश्वभर छरिएका नेपाली स्रष्टाबिच सहकार्य र संवादलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend