लन्डन – बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा सुर्य सुवेदीले यही शनिवार, पौष २६ गते (नेपाल समय राती पौने नौ बजे) आयोजना गर्न लागिएको वेबिनारमा विद्वत् प्रवचन दिन लागेका छन्।
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन युके शाखाद्वारा आयोजना गर्न लागिएको वेबिनारमा प्रा सुवेदीले “जेन जी आन्दोलन पछि नेपालको संवैधानिक विकासका चुनौती” विषयमा प्रवचन दिने छन् ।
नेपालमा गत सेप्टेम्बर महिनामा जेन जी आन्दोलनसँगै सरकार परिवर्तन भए पछि प्रा सुवेदीले आफ्ना भनाइहरू पहिलो पटक सार्वजनिक रूपमा राख्न लागेका हुन् ।
” जेन जी पुस्ताले नेपालमा गरेको आन्दोलन पछि बनेको सरकारको संवैधानिकता, विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लगायत कतिपय जनचासोका विषयमा छलफल र बहस अगाडी बढाउन हामीले यो वेबिनार आयोजना गर्न लागेका हौँ । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्रा सुवेदीको विद्वत् प्रवचन विद्यमान सन्दर्भमा निकै उपयोगी हुने हाम्रो विश्वास छ,” जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन युके शाखाका अध्यक्ष डा सम्पूर्णानन्द ढुंगानाले भने। उनले सबैलाई वेबिनारमा सहभागी भएर आफ्ना केही जिज्ञासाहरू भए प्रा सुवेदी समक्ष राख्न आमन्त्रण पनि गरे ।
डायस्पोराको सक्रिय सहभागितामा नेपालको दिगो विकास र रूपान्तरणका लागि बहस चलाउँदै आएको जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसनले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफलहरू आयोजना गर्दै आएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend