हङकङ । “हाम्रो संस्कृति, हाम्रो शान । बचाऔँ आफ्नो पहिचान” भन्ने मूल नाराका साथ हङकङ तामाङ घेदुङको २७औँ वार्षिक दिवस तथा वार्षिक साधारण सभा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
सन १९९८ मा स्थापना भई हङकङमा बसोबास गर्दै आएका तामाङ समुदायलाई एकीकृत गर्ने उद्देश्यले क्रियाशील हङकङ तामाङ घेदुङले तामाङ जातिको मौलिक संस्कृति, भाषा, धर्म, भेषभूषा, संस्कार तथा परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै आएको छ। साथै सम्पूर्ण तामाङ समुदायको हक, अधिकार, विकास, प्रगति र उन्नतिमा टेवा पुर्याउने महान् उद्देश्यका साथ संस्थाले निरन्तर सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

संस्थाको २७औँ वार्षिक दिवस तथा वार्षिक साधारण सभा मिति २०२५ डिसेम्बर २८ आइतबारका दिन हङकङको जोर्दन, काउलुनस्थित यक्थुङ चुम्लिङ हिमको सभा हलमा आयोजना गरिएको हो। कार्यक्रम संस्थाका अध्यक्ष श्री कृष्ण ब. लामा (थिङ) को अध्यक्षतामा सम्पन्न भएको थियो।
सभामा संस्थाका पुर्व अध्यक्षहरू, निवर्तमान अध्यक्ष श्री सुस्मा वाइबा तामाङ, संरक्षकहरू, सल्लाहकारहरू, कार्यसमिति पदाधिकारीहरू तथा हङकङलाई कर्मथलो बनाउँदै आएका र स्थायी रूपमा बसोबास गर्दै आएका तामाङ बुद्धिजीवी एवं समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

महासचिव श्री विजय तामाङद्वारा सञ्चालन गरिएको कार्यक्रममा महिला उपाध्यक्ष श्री कमली वाइबाको स्वागत मन्तव्य रहेको थियो । त्यस अवसरमा उपाध्यक्ष श्री निलकुमार वाइबा, निवर्तमान अध्यक्ष श्री सुस्मा वाइबा, पुर्व अध्यक्ष एवं सम्बोधी ज्ञान प्रभा सेन्टर (गुम्बा) का अध्यक्ष श्री भवेश घिसिङ तथा प्रमुख अतिथि १४औँ महाधिवेशनका निर्वाचन मण्डलका अध्यक्ष एवं सल्लाहकार श्री सेर ब. तामाङलगायत वक्ताहरूले संस्थाको भावी कार्यदिशा, कार्यक्रम तथा समसामयिक विषयवस्तुमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
वक्ताहरूले हङकङ तामाङ घेदुङले विगतदेखि गर्दै आएको सामाजिक, सांस्कृतिक तथा धार्मिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त, समावेशी र प्रभावकारी ढंगले तामाङ समुदायको पहिचान जोगाउने कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले हङकङमा रहेका तामाङ समुदायबिच आपसी एकता, सहकार्य र सांस्कृतिक चेतनालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend