काठमाडौँ: नेपाल प्रहरीले ७०औँ स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहकाबीच प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले अध्यक्ष श्रेष्ठलाई कदर पत्र प्रदान गर्नुभएको हो।
गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको पुनर्निर्माणमा एनआरएनएले महत्त्वपुर्ण सहयोग पुर्याएबापत यो सम्मान प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्मान ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले सडक सुरक्षाका लागि एनआरएनएले गरेको योगदानबारे चर्चा गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एनआरएनएले हाल करिब ८० लाख रुपैयाँभन्दा बढीको लागतमा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। कन्ट्रोल रुममा आवश्यक उपकरण जडानको काम भइरहेको र केही दिनमै ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिने एनआरएनएका उपाध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
सम्मान समारोहमा एनआरएनएका पुर्व अध्यक्षहरू, पदाधिकारीहरू र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend