बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एनआरएनए अध्यक्ष बद्री केसी र प्रधानमन्त्री सुशीला कार्कीबिच भेट

एनआरएनए अध्यक्ष बद्री केसी र प्रधानमन्त्री सुशीला कार्कीबिच भेट

70
Shares
70
Shares

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको छ ।

विश्वभरिका गैर आवासीय नेपालीहरू नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष डा केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरूले मातृभूमिलाई आर्थिक रूपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरूको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ ।’

जवाफमा सम्माननीय प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो । पुनर्निर्माणको लागि नेपाली र गैर आवासीय नेपालीहरूसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउन आग्रह गर्नुभयो ।

उक्त भेटमा अध्यक्ष डा केसीले ‘एक पटकको नेपाली सदैव नेपाली’ भन्ने मुल उद्देश्य अनुरूप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरता सहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गर्नुभयो । यस्तै अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरूका लागि मताधिकार सुनिश्चित गर्न समेत अनुरोध गर्नुभयो । यसका साथै गैर आवासीय नेपाली संघको १२ औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारी समेत गराउनुभएको थियो ।

सम्माननीय प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रूपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई बिदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend