सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

छैटौँ भुटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

छैटौँ भुटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

159
Shares
159
Shares

मोनरो (ओहायो) — भुटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भुटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा सम्पन्न भएको छ। अमेरिकाका विभिन्न राज्यबाट आएका माझी समुदायका सदस्य, सामाजिक अगुवा, युवा, कलाकार तथा शुभेच्छुकहरूको सहभागितामा भएको सम्मेलनले संस्कृति, पहिचान, शैक्षिक उपलब्धि र सामुदायिक एकतालाई प्राथमिकताका साथ उठाएको थियो।

बिएएमसीका अध्यक्ष प्रेम माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुटानी कम्युनिटी अफ सिनसिनाटी (बिसिसी) का अध्यक्ष पुष्प लुइँटेल प्रमुख अतिथि रहनुभएको थियो। ग्लोबल भूटानीज अर्गनाइजेसन (जिबिओ) का प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष डीबी राई, राम गुरुङ, डा. दिनेश चौहान र लीला कुइँकेललगायत विशिष्ट अतिथिको उपस्थिति थियो।

सम्मेलनमा चित्रकला प्रतियोगिता, बोरा दौड, बेलुन फुटाउने खेल र म्युजिकल चेयरलगायत मनोरञ्जनात्मक तथा सामुदायिक गतिविधि सञ्चालन गरिएका थिए। आरुष माझी, समीर, करुण, हेमसागर माझी र बेधा प्रधानलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।

रिजा, सोफिया, जेसिका, प्रिया, प्रियश, प्रभा, रत्न, रेखा माझी/श्रेष्ठ तथा नबिना तामाङलगायत बालबालिका र युवा कलाकारका सांस्कृतिक प्रस्तुतिले सम्मेलनलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा शिक्षा तथा सामुदायिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै निदम माझीलाई प्रशंसापत्र प्रदान गरिएको थियो। ज्येष्ठ सदस्य गौरीमाया माझी, मोनमाया माझी र पूर्णमाया माझीलाई पनि सम्मान गरिएको थियो।

सम्मेलनको विशेष अवसरमा डा. सुभाष माझीलाई भुटानी माझी समुदायबाट पहिलो पटक डाक्टर अफ ह्युमन सर्भिसेज उपाधि हासिल गरेकोमा विशेष सम्मान गरिएको थियो।

यस अवसरमा सन् २०२६ देखि २०२९ सम्मका लागि बिएएमसीको नयाँ कार्यसमिति पनि घोषणा गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. सुभाष माझी, उपाध्यक्षमा गणेश माझी, महासचिवमा सनमान माझी, कोषाध्यक्षमा सुसन माझी र सचिवमा कविता माझी चयन हुनुभएको छ।

जीत माझी, बुद्ध माझी, अमिषा माझी, हेम माझी, शारदा माझी र विशाल माझीले संस्थाका विभिन्न विभागीय जिम्मेवारी सम्हाल्ने बताइएको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रेम माझी तथा निवर्तमान कार्यसमितिले तीन कार्यकालमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो। प्रमुख अतिथि लुइँटेलले माझी समुदायको संगठनात्मक एकता, सामाजिक प्रगति र भावी पुस्ताको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

समापन समारोहमा अध्यक्ष प्रेम माझीले सम्मेलन सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, स्वयंसेवक, सहभागी तथा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्नुभयो। विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार तथा अतिथि र कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो।

सम्मेलनले माझी संस्कृति, भाषा र पहिचानको संरक्षणसँगै ज्येष्ठ पुस्ताको योगदानको सम्मान, युवाको सहभागिता तथा शैक्षिक उन्नतिलाई अघि बढाउने सन्देश दिएको सहभागीहरूले बताएका छन्।

  • प्रतिक्रिया दिनुहोस

    अर्जुन प्रधान का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend