वासिङ्टन । अमेरिकाले पहिलो पटक पृथ्वीको कक्षमा ‘अन्तरिक्ष अस्त्र’ तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकी वायुसेनाका वरिष्ठ अधिकारी ट्रूई मिङ्कले शत्रुतापुर्ण सैन्य गतिविधिबाट अमेरिकी अन्तरिक्ष सम्पत्तिको रक्षा गर्न यस्तो क्षमता आवश्यक रहेको बताएका छन्।
‘एअर, स्पेस एन्ड साइबर कन्फरेन्स’मा बोल्दै उनले बढ्दो सुरक्षा खतरासँग जुध्न अमेरिका तयार रहेको बताए। यद्यपि उनले तैनाथ गरिएको अस्त्रको प्रकार र क्षमताबारे विस्तृत जानकारी दिएनन्।
अमेरिकाले चीन र रुसले भविष्यका द्वन्द्वमा अमेरिकी स्याटलाइटलाई लक्षित गर्न सक्ने भन्दै अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गरिरहेको छ। सन् २०१९ मा स्थापना गरिएको यूएस स्पेस फोर्सलाई आवश्यक परे शत्रुका अन्तरिक्ष क्षमतालाई अवरोध, कमजोर वा नष्ट गर्न सक्ने आक्रामक तथा रक्षात्मक भूमिकासमेत दिइएको छ।
सन् १९६७ को अन्तरिक्ष सन्धिले पृथ्वीको कक्षमा आम विनाशका हतियार तैनाथ गर्न प्रतिबन्ध लगाए पनि सैन्य सञ्चार, निगरानी र नेभिगेसनसँग सम्बन्धित अन्य अन्तरिक्ष क्षमतामाथि भने प्रतिस्पर्धा बढ्दै गएको छ ।

(Image credit: U.S. Space Force)
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend