मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

इलाम विकास समाज प्रेस विज्ञप्ति

इलाम विकास समाज प्रेस विज्ञप्ति

25
Shares
25
Shares

इलाम विकास समाज
काठमाडौँ ।

मिति: २०८३/०४/०७

प्रेस विज्ञप्ति

इलाम जिल्लामा आएको बाढी, पहिरो तथा भू–कटानको दीर्घकालीन रोकथाम, पीडितलाई क्षतिपूर्ति, पुनर्निर्माण तथा सडक सञ्जाल तत्काल सुचारु गर्न इलाम विकास समाजको गम्भीर ध्यानाकर्षण

इलाम विकास समाजले इलाम जिल्लामा निरन्तर वर्षाका कारण आएको बाढी, पहिरो तथा भू–कटानबाट जनधन, सडक, पुल–पुलेसा, खानेपानी, विद्युत्, कृषि तथा सार्वजनिक एवं निजी संरचनामा भएको व्यापक क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।

गत वर्ष (वि.सं. २०८२ साल असोज १८ र १९ गते) इलाममा आएको विनाशकारी बाढी तथा पहिरोपछि दीर्घकालीन रोकथाम, जोखिम न्यूनीकरण तथा पूर्वाधार सुदृढीकरणका प्रभावकारी उपायहरू कार्यान्वयन हुन नसक्दा यस वर्ष पनि मनसुनजन्य विपद्ले जिल्लाको जनजीवन पुनः अस्तव्यस्त बनेको छ। यसले विपद् व्यवस्थापनमा दीर्घकालीन सोच, पर्याप्त लगानी तथा प्रभावकारी कार्यान्वयनको आवश्यकता अझ स्पष्ट रूपमा उजागर गरेको छ।

विशेष गरी मेची राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडकहरू अवरुद्ध हुँदा नागरिकको आवतजावत, स्वास्थ्य सेवा, शिक्षा, कृषि उपजको ढुवानी, पर्यटन तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा गम्भीर असर परेको छ। प्रभावित समुदाय अझै कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य भएको अवस्थाप्रति इलाम विकास समाज, काठमाडौँ गम्भीर चिन्ता व्यक्त गर्दछ।

यस परिस्थितिमा इलाम विकास समाज नेपाल सरकारसँग निम्न माग गर्दछ:

१. इलाम जिल्लालाई तत्काल विपद् संकटग्रस्त जिल्ला घोषणा गरी राहत, उद्धार, खोज तथा पुनः स्थापनाका कार्यलाई युद्ध स्तरमा सञ्चालन गरियोस् तथा आवश्यक विशेष बजेट र स्रोत–साधन तत्काल उपलब्ध गराइयोस्।

२. प्रभावित परिवारलाई तत्काल राहत, उद्धार, स्वास्थ्य सेवा, खाद्यान्न तथा सुरक्षित आवासको व्यवस्था गरियोस्।

३. गत वर्षको विपद्बाट ज्यान गुमाएकाका परिवार, घाइते, घरबारविहीन तथा सम्पत्ति गुमाएका पीडितलाई घोषणा गरिएअनुसारको क्षतिपूर्ति, राहत तथा पुनः स्थापनाको व्यवस्था तत्काल सुनिश्चित गरियोस्।

४. मेची राजमार्गसहित अवरुद्ध सडक, पुल–पुलेसा, खानेपानी, विद्युत् तथा अन्य आधारभूत सेवाहरू युद्ध स्तरमा मर्मत गरी तत्काल सुचारु गरियोस्।

५. क्षतिग्रस्त भौतिक पूर्वाधारको दिगो पुनर्निर्माण तथा पुनः निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइयोस्।

६. जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक अध्ययन गरी सुरक्षित पुनर्वास कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्।

७. इलाम जिल्लाका लागि पहिरो नियन्त्रण, नदी व्यवस्थापन, भू–कटान रोकथाम, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी दीर्घकालीन गुरुयोजना बनाई पर्याप्त बजेटसहित कार्यान्वयन गरियोस्।

८. संघ, प्रदेश र स्थानीय सरकारबिच प्रभावकारी समन्वय गरी पुनर्निर्माण तथा पुनः स्थापनाका कार्यलाई तीव्रता दिइयोस्।

९. विपद् व्यवस्थापनका सबै चरणमा स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र तथा विकास साझेदारसँग प्रभावकारी सहकार्य गरियोस्।

इलाम विकास समाज विपद्को यस कठिन घडीमा प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्मानजनक पुनः स्थापना, दिगो पुनर्निर्माण तथा भविष्यमा यस्ता विपद्को पुनरावृत्ति रोक्न नेपाल सरकारबाट तत्काल, प्रभावकारी र दीर्घकालीन कदम चाल्न जोडदार आग्रह गर्दछ।

राधेश्याम लेकाली
अध्यक्ष

अर्जुन भट्टराई
सचिव

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend