मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नियुक्तिलाई एनआरएन अभियन्ता र वैज्ञानिकहरूले गरे स्वागत

नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नियुक्तिलाई एनआरएन अभियन्ता र वैज्ञानिकहरूले गरे स्वागत

39
Shares
39
Shares

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नियुक्तिलाई गैर आवासीय नेपाली (एनआरएन) अभियन्ता, वैज्ञानिक तथा विज्ञहरूले स्वागत गरेका छन्। उनीहरूले डा. पुनको नेतृत्वले नेपालमा विज्ञान, अनुसन्धान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।

अस्ट्रेलियामा कार्यरत वैज्ञानिक तथा एनआरएनएको स्किल, नलेज एण्ड इनोभेशन विभागका संस्थापक प्रमुख डा. राजु अधिकारीले पुनलाई सही मन्त्रालयको जिम्मेवारी दिइएको बताए। “नेपालमा नवप्रवर्तन र प्राविधिक उन्नतिका लागि दशकौँदेखि आवाज उठाउँदै आएका डा. महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्वमा ल्याइनु स्वागतयोग्य निर्णय हो,” उनले भने।

पुनको नियुक्तिले लामो समयसम्म कम प्राथमिकतामा रहेको मन्त्रालयलाई राष्ट्रिय विकासको रणनीतिक केन्द्रका रूपमा स्थापित गर्ने अवसर प्रदान गरेको पनि डा. अधिकारीले जनाए । उनले अस्ट्रेलिया भ्रमणका क्रममा डा. पुनले राष्ट्रिय नवप्रवर्तन केन्द्रसम्बन्धी आफ्नो दृष्टिकोण नेपाली डायस्पोरासमक्ष प्रस्तुत गरेको स्मरण गर्दै नेपालमा अनुसन्धान, नवप्रवर्तन र प्रविधिमार्फत आर्थिक विकासलाई गति दिन सकिने बताए।

नेपाल साइन्स फाउन्डेसन ट्रस्टका संस्थापक अध्यक्ष रहेका डा. अधिकारीले सरकारले आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा ४ अर्ब रुपैयाँ विनियोजन गर्नु सकारात्मक संकेत भएको पनि उल्लेख गरे। उनले प्रविधि स्टार्टअप, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), अनुसन्धान कार्यक्रम तथा सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न सार्वजनिक–निजी साझेदारी, शिक्षण संस्था, विकास साझेदार तथा नेपाली डायस्पोराको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताए।

उनले मन्त्रालयले शिक्षाविद्, उद्योग, सरकार र डायस्पोराका विज्ञहरू सम्मिलित उच्चस्तरीय सल्लाहकार परिषद् गठन गर्नुपर्ने सुझाव दिएका छन्। साथै, १० वर्षे राष्ट्रिय विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मार्गचित्र तयार गरी स्पष्ट कार्यसम्पादन सूचकहरू निर्धारण गर्नुपर्नेमा जोड दिए।

यसै गरी एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पनि पुनको नियुक्तिलाई स्वागत गरेका छन्। “२१औँ शताब्दीमा कुनै पनि राष्ट्रको समृद्धि विज्ञान, अनुसन्धान, प्रविधि र नवप्रवर्तनमा गरिने लगानीमा निर्भर हुन्छ,” उनले भने।

पुडासैनीले अनुसन्धान र प्रविधिको विकासका लागि वर्षौँदेखि संघर्ष गर्दै आएका व्यक्तिलाई यही मन्त्रालयको नेतृत्वमा नियुक्त गर्नु दूरदर्शी निर्णय भएको बताए। “ बेलायत, अमेरिका, दक्षिण कोरिया जस्ता मुलुकहरूले अनुसन्धान, नवप्रवर्तन मार्फत मुलुक को आधुनिकीकरण र विकास गरेका चुन। अब नेपालले पनि अनुसन्धान, नवप्रवर्तन, डिजिटल रूपान्तरण र वैज्ञानिक सोचलाई राष्ट्रिय विकासको केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” उनले भने।

उनले महावीर पुनको नेतृत्वमा नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना पनि दिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend