मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्छ: महामन्त्री विश्वप्रकाश शर्मा

विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्छ: महामन्त्री विश्वप्रकाश शर्मा

39
Shares
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्ने बताएका छन्।

मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बन्दसत्रमा उठेका सबै सुझाव समेटेर पार्टीको दृष्टिकोण दस्तावेजलाई अझ परिमार्जन र परिपक्व बनाएर पारित गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले महाधिवेशन प्रतिनिधिहरूका सुझाव मात्र नभई पार्टी बाहिर रहेका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारमाध्यममार्फत आएका सुझावसमेत दस्तावेजमा समेटिने बताए।

‘यो दस्तावेज केवल केही हजार शब्दको पुस्तिका होइन, आजको नेपाललाई कांग्रेसले कसरी हेर्छ भन्ने साझा दृष्टिकोण हो,’ शर्माले भने, ‘युवाको हुटहुटीलाई कसरी नेतृत्व गर्ने, विगतका उपलब्धि र कमजोरीलाई कसरी आत्मसात् गर्ने भन्ने कुरा यसमा समेटिन्छ।’

महामन्त्री शर्माले कांग्रेसले आत्मसमीक्षाबाट नयाँ यात्रा सुरु गरिरहेको उल्लेख गर्दै नौ घण्टाभन्दा बढी समय लगातार चलेको बन्दसत्रलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गरे। ‘खानाको ब्रेकसमेत नगरी ९ घण्टाभन्दा बढी समय छलफल हुनु आफैंमा कांग्रेसको गम्भीरता हो,’ उनले भने।

उम्मेदवारी दर्तासम्बन्धी जानकारी दिँदै शर्माले करिब ९५० जनाले फाराम लिएको जानकारी आएको बताए। उनले विशेष परिस्थितिका कारण सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गर्दै पदभन्दा सन्देश ठूलो हुने स्मरण गराए। ‘म पदमा आएँ कि आएन भन्ने मुख्य होइन, यो विशेष महाधिवेशनले दिने सन्देश नै मुख्य हो,’ उनले स्पष्ट पारे।

कांग्रेसको इतिहास स्मरण गर्दै शर्माले लोकतन्त्रका लागि नेताहरूले जेल जीवन बिताएको उदाहरण प्रस्तुत गरे। ‘हामीले अग्रजहरूबाट धैर्यता, संयम र जुझारुपन सिक्नुपर्छ,’ उनले भने।

महामन्त्री शर्माले आफू र अर्का महामन्त्री गगन थापा एउटै जिम्मेवारीमा रहेर पार्टीलाई अघि बढाइरहेको उल्लेख गर्दै व्यक्तिभन्दा संस्थालाई प्राथमिकतामा राख्न आग्रह गरे। ‘म होइन, हामी भन्ने संस्कार कांग्रेसमा स्थापित हुनुपर्छ,’ उनको भनाइ थियो।

उनले प्रस्तावित दस्तावेजलाई सर्वसम्मत रूपमा पारित गर्न आग्रह गर्दै विशेष महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ ऊर्जा र बद्लिएको रूपसहित अगाडि बढ्ने सन्देश देशभर पुग्ने विश्वास व्यक्त गरे।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend