बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

‘यो विद्रोह हो, प्रश्न गर्नु पनि विद्रोह हो’

‘यो विद्रोह हो, प्रश्न गर्नु पनि विद्रोह हो’

41
Shares
41
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारेका छन् ।

मंगलबार साँझ पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भृकुटीमण्डवमा भएको कार्यक्रम नियमित कार्यक्रम नभई पार्टीभित्रको परिवर्तन अभियान भएको उल्लेख गरे ।

‘यो नियमित कार्यक्रम होइन, हामी विद्रोहमा सहभागी भएका छौँ। यो विद्रोह हो। प्रश्न गर्नु पनि विद्रोह हो,’ उनले भने ।

महामन्त्री थापाले मौन बस्नु मृत्यु स्वीकार्नुजस्तै हुने टिप्पणी गर्दै पार्टी र आफ्नो भविष्यका लागि प्रश्न उठाइएको बताए ।

‘कहिलेकाहीँ मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो। हामीले प्रश्न गरेका हौँ, त्यो हाम्रो लागि गरेको हो, उनको भनाइ थियो।

आफूहरू कुनै पद वा हैसियतका लागि नभई पार्टी परिवर्तनका लागि आन्दोलनरत रहेको उल्लेख गर्दै उनले भने, ‘हामी यहाँ केही बन्न आएका होइनौँ। केही बन्न आतुर भएर यो आयोजना गरिएको पनि होइन। प्रश्न पनि केही बन्नका लागि गरिएको होइन।’

कांग्रेस परिवर्तनका लागि तयार रहेको र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन सक्छ भन्ने सन्देश दिन दुई दिनसम्म संकल्प गरिएको उनले बताए । ‘नारामा भनिएझैँ कांग्रेस बदलिन तयार छ, र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मा लिन सक्छ,’ उनले भने ।

बन्दसत्रमा अनुपस्थित पार्टी सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरूलाई समेत समेटेर छलफल गरिएको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘यहाँ उपस्थित नहुनुभएका पार्टी सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरू पनि यहाँ उपस्थित हुनुहुन्छ भन्ने ठानेर कुर्सी राखी छलफल गरिरहेका छौँ। किनकि हामी सिङ्गो कांग्रेस बनेर छलफल गरिरहेका छौँ।’

उनले हजारौँ संख्यामा आएका महाधिवेशन प्रतिनिधिहरुको दुई दिन देखीको भेलालाई हल्लासँग नलिन आग्रह गरे । उनले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै दखलअन्दाजी गर्न नहुने पनि बताए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend