बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ललितपुर र ब्रुमफिल्डबीच ‘भगिनी सहर’ सम्बन्ध स्थापना: अमेरिकामा हस्ताक्षर समारोह सम्पन्न

ललितपुर र ब्रुमफिल्डबीच ‘भगिनी सहर’ सम्बन्ध स्थापना: अमेरिकामा हस्ताक्षर समारोह सम्पन्न

925
Shares
925
Shares

ब्रुमफिल्ड, कोलोराडो । नेपालको ललितपुर महानगरपालिका र अमेरिकाको ब्रुमफिल्ड (कोलोराडो) सहरबिच औपचारिक रूपमा भगिनी सहर (Sister City) सम्बन्ध स्थापना भएको छ । सोमबार जनवरी १२, २०२६ मा ब्रुमफिल्डको सिटी काउन्सिल च्याम्बर्समा आयोजित एक विशेष समारोहका बिच दुई सहरबिच मितेरी सम्बन्ध गाँसिएको हो ।

ललितपुरका मेयर चिरिबाबु महर्जन र ब्रुमफिल्डकी मेयर गुयलेन क्यास्ट्रियोटा (Guyleen Castriotta) ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा ब्रुमफिल्ड भगिनी शहर बोर्डका सदस्यहरू, स्थानीय नागरिक र नेपाली समुदायका ७० भन्दा बढी व्यक्तिहरूको उपस्थिति थियो ।

Broomfield (CO) Mayor Guyleen Castriotta

समारोहमा दुवै सहरका झन्डा र उपहारहरू साटासाट गरिएको थियो । ब्रुमफिल्डको तर्फबाट जुन्को गुडविनले नेटिभ अमेरिकन ‘वेडिङ भेस’ (Wedding Vase) उपहार स्वरूप प्रदान गर्नुभएको थियो । उपहार आदान–प्रदानको क्रममा ब्रुमफिल्डका मेयर क्यास्ट्रियानोले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ब्रुमफिल्डका दुई ऐतिहासिक तथा आकर्षक स्थलहरू—‘स्नोई एन्थेम पार्क’ (Snowy Anthem Park) र सन् १९०८ मा निर्माण गरिएको ‘ब्रुनर फार्म हाउस’ (Brunner Farmhouse) का तस्बिरहरू उपहार स्वरूप प्रदान गर्नुभयो ।

ब्रुमफिल्ड सहरका मेयर गुयलेन क्यास्ट्रियोटाले ललितपुर (नेपाल) र ब्रुमफिल्ड (कोलोराडो, अमेरिका) बिच आजदेखि ‘सिस्टर सिटी’ सम्बन्ध औपचारिक रूपमा स्थापना भएको घोषणा गर्नुभएको छ । उहाँले ललितपुरको समृद्ध सांस्कृतिक सम्पदा र सामुदायिक भावना प्रशंसनीय रहेको उल्लेख गर्दै, यो साझेदारीले दुई सहरबिच मित्रता, आपसी सिकाइ र सहकार्यलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Lalitpur Mayor Chiri Babu Maharjan

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफ्नो सम्बोधनमा ललितपुरलाई ‘ललित कलाको सहर’ (City of Fine Arts) का रूपमा परिचित गराउँदै यसको ऐतिहासिक, सांस्कृतिक र कलात्मक महत्वलाई उजागर गर्नुभएको छ । विशिष्ट वास्तुकला, परम्परागत हस्तकला र जीवन्त सांस्कृतिक अभ्यासका कारण ललितपुर विश्वमै चर्चित रहेको उहाँको भनाइ छ । साथै, विश्व हस्तकला परिषद् (World Craft Council) बाट मान्यता प्राप्त विश्वको ३५ औँ तथा नेपालकै एक मात्र ‘हस्तकला सहर’ बन्नु ललितपुरका लागि गौरवको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।

भौगोलिक र जनसांख्यिक अवस्थाबारे जानकारी दिँदै मेयर महर्जनले ललितपुर बागमती प्रदेशमा अवस्थित रहेको र यसको क्षेत्रफल करिब ३६.२ वर्ग किलोमिटर रहेको बताउनुभयो । हाल यहाँ करिब ३ लाख स्थायी बासिन्दा रहे पनि व्यापार, रोजगारी र विभिन्न कामका सिलसिलामा आउने मानिसहरूलाई समेत जोड्दा दैनिक जनसङ्ख्या करिब १० लाख पुग्ने उहाँको भनाइ छ । यसले ललितपुरलाई आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै सक्रिय सहर बनाएको स्पष्ट हुन्छ । यो हाम्रो तेस्रो सिस्टर सिटी हो भनेर पनि जानकारी दिनु भयो ।

२०७२ सालको संविधानपछि संघीय प्रणाली लागु भएसँगै स्थानीय सरकारलाई सहरी योजना, सेवा प्रवाह, पुर्वाधार विकास र सम्पदा संरक्षणमा थप अधिकार र जिम्मेवारी प्राप्त भएको मेयर महर्जनले स्मरण गराउनुभयो । ललितपुर महानगरपालिकाले यी जिम्मेवारीलाई गम्भीरताका साथ वहन गर्दै ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थित सहरी विकास र जनमुखी सेवामा जोड दिँदै एक नमुना स्थानीय सरकारको रूपमा अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नारायण श्रेष्ठले यस क्षेत्रमा रहेका नेपाली समुदायहरूको परिचय दिँदै ‘हेल्पिङ ह्यान्ड्स’ संस्थाको कार्यबारे जानकारी दिनुभएको थियो । समारोहमा नेवा खल नेपाली टोलीको उत्साहजनक नौमती बाजा वा ड्रमिङ प्रस्तुतिसँगै भएको थियो ।

यो ऐतिहासिक सम्बन्धले दुई देशका सहरहरूबिच सांस्कृतिक र सामाजिक सहयोगलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

More Picture Click here

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend