बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

आशिफ शाहले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी

आशिफ शाहले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी

52
Shares
52
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद उम्मेदवार आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

जनताको भावना र पार्टीभित्र उठेका प्रतिक्रियालाई सम्मान गर्दै उनले समानुपातिक सुचीमार्फत सांसद बन्ने बाटो नअपनाउने निर्णय गरेका हुन् । राजनीतिमा प्रत्यक्ष रूपमा संलग्न नभए पनि देश निर्माणप्रतिको गहिरो चासोका कारण आफु राजनीतिमा आएको शाहले स्पष्ट पारेका छन् ।

आम जनताको चाहनाअनुसार बालेन साह, रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य सम्भव होस् भन्ने उद्देश्यले गरिएका प्रयासमा आफु सक्रिय रहेको उनले बताएका छन् । सोही योगदानलाई मुल्याङ्कन गर्दै पार्टीभित्रका साथीहरूले आफुलाई समानुपातिक सुचीमा समावेश गरेको भए पनि सुरुदेखि नै प्रत्यक्ष निर्वाचनमार्फत जनतासँग उभिन चाहेको उनको भनाइ छ ।

तर देशव्यापी राजनीतिक अभियान आवश्यक हुने भन्दै समानुपातिक प्रणालीबाट अघि बढ्न सुझाव दिइएकाले उम्मेदवारी दर्ता भएको उनले उल्लेख गरेका छन् ।

यद्यपी, उम्मेदवारी दर्तापछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रिया र पार्टीका साथीहरूको भावनाले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको शाहले जनाएका छन् । ‘सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभुति भयो,’ उनले भने ।

देश निर्माणका लागि जुनसुकै हैसियतमा रहेर पनि योगदान गर्न तयार रहेको उल्लेख गर्दै शाहले जनताको भावना विपरीत गएर समानुपातिक सूचीमार्फत सांसद बन्न नसक्ने स्पष्ट पारेका छन् । यही कारण उनले औपचारिक रूपमा समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

साथै उनले समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारहरूलाई पनि जनभावनाको कदर गर्दै आफ्नो नाम फिर्ता लिन विनम्र आग्रह गरेका छन् ।शाहले आगामी दिनमा काठमाडौं–५ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने निर्णय स्पष्ट रहेको बताएका छन् । ‘उठ्नुपर्छ, उठ्ने नै हो,’ भन्दै उनले देशभन्दा ठुलो केही नहुने धारणा व्यक्त गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend