काठमाडौँ । काठमाडौँका विभिन्न बजार क्षेत्रमा नक्कली नोटको कारोबार बढ्दै गएको पाइएको छ। हालै काठमाडौँको बौद्धस्थित एक पसलमा जुत्ता र मोजा किन्न आएका एक व्यक्तिले १४ हजार ५०० रुपैयाँको बिल तिर्दा दिएको हजारका नोट नक्कली भएको खुलेपछि यो विषय फेरि चर्चामा आएको हो ।
ग्राहकले १५ हजार रुपैयाँ बुझाएर पाँच सय रुपैयाँ फिर्ता लिएका थिए । केही समयपछि नोट शङ्कास्पद देखिएपछि पसलेले प्रहरीलाई खबर गरे । प्रहरीको प्रारम्भिक जाँचमा नोट नक्कली पुष्टि भयो र सिसिटिभी फुटेजको सहायताले अनुसन्धान अगाडि बढाइयो । अनुसन्धानकै क्रममा बुधवार साँझ काठमाडौँको उत्तरपुर्वी क्षेत्रबाट छ जनालाई नक्कली नोट कारोबारको अभियोगमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाबाट ९३ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ । प्रहरी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा मात्रै नक्कली नोटसम्बन्धी ३५ मुद्दामा ६५ जना पक्राउ परेका छन् । पछिल्ला पाँच आर्थिक वर्षमा यस्ता २५७ मुद्दा दर्ता भएका छन् । नेपाली रुपैयाँसँगै भारतीय र अमेरिकी मुद्राको नक्कली कारोबार पनि भेटिने गरेको प्रहरीको भनाइ छ । यसमा स्वदेशी तथा विदेशी महिला–पुरुष दुवै संलग्न रहेको देखिएको छ ।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार नक्कली नोट कहिले सादा पोसाकमा खटिएका प्रहरीले फेला पार्छन् भने कहिलेकाहीँ सचेत व्यापारी र नागरिकको सुचनाबाट पनि अनुसन्धान अघि बढ्छ। त्यसपछि नेपाल राष्ट्र बैंकसँग समन्वय गरी नोटको परीक्षण गरिन्छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नोट नक्कली हुन नदिन विभिन्न सुरक्षा विशेषता प्रयोग गरिएको बताए । उनका अनुसार हेरेर, छोएर, ढल्काएर (टिल्ट गरेर) र युभी प्रकाशमार्फत जाँच गर्न मिल्ने सुरक्षा विशेषता नोटमा राखिएको हुन्छ । कुबेरको आकृति, सुरक्षा धागो, उठेको छपाइ, रङ परिवर्तन हुने विशेषता र दृष्टिविहीनका लागि राखिएका चिन्हबाट पनि सक्कली नोट चिन्न सकिन्छ । राष्ट्र बैंकले यस्ता जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार शङ्कास्पद नोट भेटिएमा त्यसलाई सम्बन्धित शृङ्खला, कागजको गुणस्तर, छपाइ, रङ, नाप र सुरक्षा विशेषतासँग तुलना गरेर छुट्टाइन्छ। बरामद नोटहरू अन्तिम परीक्षणका लागि प्रयोगशालामा पठाइन्छन् ।
नक्कली नोट नेपालभित्रै वा खुला सीमाको फाइदा उठाएर बाहिरबाट ल्याइने गरेको देखिएको प्रहरीको भनाइ छ। यसअघि झापामा बोकेर हिँड्न मिल्ने मेसिन प्रयोग गरी नक्कली नोट छापिएको घटना पनि फेला परेको थियो ।
कानुनअनुसार नक्कली नोटलाई ‘खोटा मुद्रा’ मानिन्छ। मुलुकी अपराध संहिताअनुसार यस्ता अपराधमा संलग्नलाई पाँचदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्छ। नक्कली नोट बनाउन प्रयोग हुने सामग्री राख्ने वा मर्मत गर्ने कार्यमा समेत कडा सजायको व्यवस्था छ।
प्रहरीले सर्वसाधारणलाई शङ्कास्पद नोट भेटिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ। अनुसन्धानबाट दोषी प्रमाणित भएमा पीडितले नक्कली नोटको बराबर क्षतिपुर्ति पाउने व्यवस्था पनि गरिएको प्रवक्ता काफ्लेले बताए। साथै, नक्कली नोटको कारोबार लागु औषध तथा अन्य गैर कानुनी धन्दासँग पनि जोडिने गरेको प्रहरीको निष्कर्ष छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend