भरतपुर (चितवन) । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् ।
उनले निर्वाचन हुने महत्वपुर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए । उनले भने ‘आयोगले दुर्त गतिमा काम अघि बढाई रहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सुचिमा ६४ वटा भन्दा बढी दलहरूले बन्द सुचि बुझाइ सकेका छन् ।’
१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोबल उच्च भएको बताए । सरकारले निर्वाचनका लागि जनशक्ति सहित पर्याप्त बजेट छुट्टाई सकेको उनको भनाई थियो ।
दलहरू जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने ‘पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरू लागि सकेका छन् ।’ जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफ सम्म निर्वाचन केन्द्रित भइरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो ।
पत्रकारहरूको एक प्रश्नमा उनले आफु अहिले नागरिक सरकारको प्रवक्ता भएको भन्दै अहिले सम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे । उनले भने ‘चुनाव लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।’ सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आफु त्यसमा केन्द्रित भएको बताए । सरकारले दलका कार्यालयहरू गएर भेटेर बोलाएर चुनावको वातावरण बनाई रहेको उनको भनाई थियो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend