काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा मिति २०८२/०९/१३ गते आइतबार काठमाडौँ महानगरपालिका वडा नं. २३ वसन्तपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको औपचारिक शुभारम्भ सम्पन्न भएको छ।
कार्यक्रम नेपाल प्रहरीका सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्य तथा वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, उपत्यकास्थित विभिन्न नगरपालिकाका नगर प्रमुखहरू, प्र.ना.म.नि. ओमप्रसाद अधिकारी, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै गरी कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरू, विभिन्न नगरपालिकाका उपप्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारी, वडाध्यक्षहरू, प्रशासनिक अधिकृत, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय बासिन्दा, युवा, सञ्चारकर्मी, समाजसेवी, अभियन्ता, कलाकार, पुर्व प्रहरी कर्मचारी, विद्यार्थी तथा प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
‘हाम्रो प्रहरी’ कार्यक्रमअन्तर्गत कलाकार एलिस राईलगायतको नाटक प्रस्तुति, Kuma Sagar & The Khwopa Band तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कार्यालयको पुनः सम्भार र पुनः स्थापनामा सहयोग पुर्याउने महानुभावहरूलाई सम्मान स्वरूप कदर पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमले प्रहरी र समुदायबिचको सहकार्यलाई थप मजबुत बनाउँदै शान्ति, सुरक्षा र विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend