बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकामा शक्तिशाली आँधीको खतरा, हिमआँधी र बरफका कारण छुट्टीको यात्रा प्रभावित हुने आशंका

अमेरिकामा शक्तिशाली आँधीको खतरा, हिमआँधी र बरफका कारण छुट्टीको यात्रा प्रभावित हुने आशंका

123
Shares
123
Shares

वासिङ्टन । अमेरिकाका विभिन्न भागमा शक्तिशाली जाडो आँधी सक्रिय भएपछि हिमआँधी, बरफ जम्ने अवस्था र प्रतिकुल मौसमका कारण छुट्टीको समयमा यात्रा प्रभावित हुने चेतावनी दिइएको छ । मौसमविद्हरूका अनुसार आइतबार मैदान क्षेत्र (प्लेन्स) बाट पुर्वतर्फ सर्दै गएको तीव्र चक्रवातका कारण देशका धेरै भु–भागमा हिउँ, बरफ, वर्षा र गम्भीर मौसमी अवस्था देखिनेछ ।

आइतबार अपर मिडवेस्ट क्षेत्रमा हिउँ र तीव्र हावा फैलिएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवा (NWS) ले कतिपय स्थानमा ‘ह्वाइटआउट’ अवस्था र सम्भावित हिमआँधीका कारण यात्रा नै असम्भव हुन सक्ने चेतावनी दिएको छ । अपर ग्रेट लेक्स क्षेत्रका केही भागमा एक फिटभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ भने लेक सुपीरियरको दक्षिणी किनारमा दुई फिट (६१ सेन्टिमिटर) सम्म हिउँ जम्न सक्ने बताइएको छ ।

दक्षिणी राज्यहरूमा भने तीव्र चिसो हावाको प्रवेशसँगै भीषण मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । ‘ब्लु नर्थर’ भनिने यस चिसो फ्रन्टले अचानक तापक्रम घटाउने र उत्तरबाट तीव्र हावा चलाउनेछ, जसले हालै देखिएको असामान्य गर्मीको अन्त्य गर्नेछ ।

अपर मिडवेस्ट र उत्तरपूर्वी क्षेत्रमा हिउँले भरिएको छुट्टीको मौसम देखिँदा देशको मध्य भाग र दक्षिणमा भने वसन्तजस्तै न्यानो मौसम कायम थियो। हालैका दिनहरूमा अत्यधिक तापक्रमका कारण ‘सान्टा’ समेत पसिना बगाउने अवस्था आएको थियो ।

आइतबार एटलान्टामा अधिकतम तापक्रम करिब ७२ डिग्री फारेनहाइट (२२ डिग्री सेल्सियस) रहने पूर्वानुमान गरिएको छ । यसअघि क्रिसमस इभमा तापक्रम ७८ डिग्री फारेनहाइट (करिब २६ डिग्री सेल्सियस) पुगेर सहरको रेकर्ड तोडिएको थियो । क्रिसमसपछि दक्षिण र मिडवेस्टका धेरै स्थानमा उच्चतम तापक्रमका नयाँ रेकर्ड कायम भएका छन् ।

तर मौसमविद्हरूका अनुसार यो असामान्य गर्मी चाँडै समाप्त हुँदैछ। आइतबार रातिदेखि सोमबारसम्म दक्षिणका धेरै भागमा वर्षा हुने र मंगलबारदेखि निकै चिसो मौसम सुरु हुने अपेक्षा गरिएको छ। एटलान्टामा मंगलबार बिहान न्युनतम तापक्रम २५ डिग्री फारेनहाइट (माइनस ३.९ डिग्री सेल्सियस) सम्म झर्ने अनुमान छ। दक्षिणी क्षेत्रमा नयाँ वर्षको दिनसम्म चिसो मौसम कायम रहने बताइएको छ ।

आगामी ४८ घण्टामा यो चक्रवातका कारण मिडवेस्ट र ग्रेट लेक्स क्षेत्रमा भारी हिउँ र हिमआँधी, न्यु इङ्ल्यान्डमा जम्ने वर्षा, पुर्वी अमेरिका र दक्षिणमा मेघगर्जनसहितको वर्षा तथा व्यापक रूपमा तीव्र हावा चल्ने पुर्वानुमान गरिएको छ ।

राष्ट्रिय मौसम सेवाका अनुसार क्यानडाबाट दक्षिणतर्फ झर्दै आएको अत्यन्त चिसो हावा र दक्षिणी अमेरिकामा लामो समयदेखि कायम असामान्य रूपमा न्यानो हावाबीचको तीव्र टकरावबाट आँधी अझ शक्तिशाली बन्दै पुर्वतर्फ सर्दैछ।

यसअघि यही सप्ताहन्तमा उत्तरपुर्व र ग्रेट लेक्स क्षेत्रमा हिउँका कारण हजारौँ उडान ढिलाइ र रद्द भएका थिए। क्रिसमस र नयाँ वर्षबीचको व्यस्त यात्राका क्रममा हजारौँ यात्रु सडक र विमानस्थलतर्फ लागेका बेला यो समस्या देखिएको हो ।

यता देशको पश्चिमी किनारमा भने क्यालिफोर्नियामा सप्ताहन्त अपेक्षाकृत सुख्खा रह्यो। यसअघि आएको शक्तिशाली आँधीले भारी वर्षा, आकस्मिक बाढी र पहिरो निम्त्याउँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो। लस एन्जलस काउन्टी शेरिफ विभागका अनुसार ल्यान्कास्टर नजिक आंशिक रूपमा डुबेको कारभित्र शुक्रबार एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend