बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

आगामी चुनाव नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु हो: मन्त्री घिसिङ

आगामी चुनाव नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु हो: मन्त्री घिसिङ

73
Shares
73
Shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दुको रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई, चुनावको रूपमा मात्रै नभई नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु बनाउनेतर्फ सबै अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिले देशमा चुनावको माहौल बढी रहेको छ । जेनजी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ, अवस्था जुन हिसाबले बनेको छ त्यसको मुल दायित्व भनेको चुनाव गर्ने हो । फागुन २१ मा चुनाव गर्ने हो । चुनावलाई, चुनावको रूपमा मात्रै होइन नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु पनि हुनुपर्छ भन्ने सबैले कामना गर्नुपर्छ र यसतर्फ अगाडि बढ्नुपर्छ ।’

यस्तै, उनले देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, समृद्धिको लागि अगाडि बढ्ने मागमा जेनजी आन्दोलन भएको भन्दै यसको परिणाम राम्रो आएन फेरि पनि पुरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठुलो दुर्भाग्य अरू हुन नसक्ने बताए ।

उनले भने, ‘सबै देशभित्र र देशबाहिरका सम्पूर्ण नेपालीहरूले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरूको समूह अगाडि बढ्नुपर्छ । युवा पुस्ता नेपालको समृद्धि र सुशासनका लागि अगाडि बढ्नुपर्छ । जेनजी आन्दोलनको माग पनि यही हो । देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागि अगाडि बढ्ने जुन मागमा जेनजी आन्दोलन भयो, धेरै धनजनको क्षति भयो, कति शहीद भए, कति घाइते भए यसको परिणाम राम्रो आएन फेरि पनि पुरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठुलो दुर्भाग्य अरू हुन सक्दैँन् ।’

देशलाई समृद्धतर्फ लैजान नयाँ युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘देशलाई माथि लैजान वा समृद्धतर्फ लैजान नयाँ पुस्ता वा युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । त्यस कारण यसतर्फ सम्पूर्ण नयाँ शक्ति र व्यक्तित्व जसले यो देशमा केही गरौँ भनेर काम गरिरहेको छन्, उनीहरू सबै एक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।’

‘विगतमा विकृतिहरूलाई सुधार गर्न उज्यालो नेपाल पार्टी जन्मियो’
उज्यालो नेपाल पार्टीको संयोजक अनुप उपाध्यायले विगतमा विकृतिहरूलाई सुधार गर्नको लागि जेनजी आन्दोलन भएको भन्दै यसबाट माथि उठ्नुपर्ने आवश्यकता महसुस गरेर उज्यालो नेपाल पार्टीको स्थापना गरेको बताए ।

उनले भने, ‘हामी सधैँ व्यवस्था परिवर्तनको मोडबाट नै गुज्रियौँ, तर जनताको अपेक्षा र चाहनाहरू थिए त्यो पूरा गर्न सधैँ नै पछि पर्यौं । प्राथमिकतामा नै परेन, यसैको फलस्वरूप भदौ २३ र २४ को जुन आन्दोलन भयो र तिनै विकृतिहरूलाई सुधार गर्नको लागि जेनजीहरुले आफ्नो ज्यान समेत पनि दिए । यो सबैको कारण पुरानो कार्यशैली नै हो । त्यस कारण हामीले अब यसबाट माथि उठ्नुपर्ने आवश्यकता महसुस गरेको हुनाले उज्यालो नेपाल पार्टीको स्थापना गरेको हो ।’

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend