इटहरी । कोशी प्रदेशका ९० जना माध्यमिक तहका शिक्षकलाई प्रश्नपत्र निर्माण ग्रिडको प्रयोग, गोपनीयता, विश्वसनीयता तथा नतिजा विश्लेषणसम्बन्धी तीन दिने अभिमुखीकरण तालिम सुनसरीको इटहरीमा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।

कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई लक्षित गरी तालिम आयोजना गरिएको कार्यक्रम संयोजक सुवास पन्तले जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/८३ मा देशभर ५०० जना अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई यस्तै अभिमुखीकरण तालिम दिने योजना रहेको जनाइएको छ। साथै आगामी आर्थिक वर्षमा देशका ७५३ वटै स्थानीय तहका अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकलाई तालिम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

तालिममा विषय विज्ञहरू डा. गणेशबहादुर सिंह, डा. मोहन पौडेल, कार्यक्रम संयोजक सुवास पन्त, विश्व जोशी, सुशील खनाललगायतले सहजीकरण गर्नेछन्। उद्घाटन सत्रमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षकको मेहनतले मात्र विद्यार्थीको नतिजा सुधार हुने उल्लेख गरे।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख दामोदर चापागाईं तथा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजक राष्ट्रिय परीक्षा बोर्ड तथा सहआयोजक गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घ रहेका छन्।

यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend