बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जेनजीको मिराज समुहले गर्‍यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

जेनजीको मिराज समुहले गर्‍यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

47
Shares
47
Shares

काठमाडौँ । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पुर्ण रूपमा असफल भएको आरोप लगाए ।

उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भए पनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देखिएको थिएन ।’

उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए । ढुंगानाले प्रधानमन्त्री पदमा कसको समर्थनमा पुगेको हो भन्ने प्रश्न उठाउँदै भने, ‘कसको छातीमा बसेर तपाईँ प्रधानमन्त्री बन्नुभयो ? देशलाई निकास दिनुहुन्न, स्थिरता दिनुहुन्न, आठ तारिखमा विद्रोह भएको अवस्था र अहिलेको अवस्था उस्तै छ, झन् गम्भीर बनेको छ ।’

उनले शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै भने ‘शान्ति सुरक्षाका लागि सरकारले के गरिरहेको छ ? जनतालाई थाङ्नामा सुताउने काम स्वीकार्य हुँदैन ।’

ढुंगानाका अनुसार जेनजी आन्दोलनका प्रमुख एजेन्डामा संवैधानिक सुधारसहित राज्यको पुनः संरचनात्मक परिवर्तन, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीमाथि कडा कारबाही रहेका छन्।

त्यसै गरी दिगो विकास र समृद्धिका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी सर्वसम्मत सुधार प्रक्रिया तय गर्नुपर्ने माग पनि उनले अघि सारे ।

आन्दोलनका क्रममा आफ्ना माग राखेकै आधारमा जेनजी अभियन्तामाथि लगाइएका मुद्दा खारेज गर्न, पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्न उनले सरकारसँग माग गरे ।

जेनजी जनआन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घन, घातक दमन तथा युवाको हत्या घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनले बताए । साथै आन्दोलनमा घाइते भएकाको उचित उपचार, क्षतिपूर्ति र भरपोषणको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend