काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मङ्गलवारदेखि सुरु हुने भनिएको मतदान विद्युतीय मतदानयन्त्रमा समस्या देखिएपछि अन्तिम समयमा स्थगित गरिएको छ। मङ्गलवार दिउँसो सुरु गर्ने तयारी भए पनि पटक–पटक समय सर्दै साँझसम्म पुगेको थियो। मतदानअघि परीक्षण गर्दा मेसिनमा प्राविधिक समस्या देखिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बिबिसिलाइ बताएका छन ।
उनका अनुसार समस्या समाधान गर्न पाँच–छ घण्टा लाग्ने जानकारी आएपछि मतदान भोलि बिहानसम्मका लागि स्थगित गरिएको हो। मतदान ढिलो हुँदा नेतृत्व चयनको अन्तिम परिणाम सार्वजनिक हुन पनि समय लाग्ने देखिएको छ।
११औँ महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान सम्पन्न भएपछि अधिकतम तीन घण्टाभित्र परिणाम आउने बताए। तर ८० वटा विद्युतीय मतदान यन्त्र प्रयोग गरेर मतदान सकिन करिब १० घण्टा लाग्न सक्ने आकलन गरिएको छ। एक प्रतिनिधिलाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने अनुमान निर्वाचन आयोगको छ।
अन्तिम समयमा उम्मेदवारहरूको हेरफेर हुँदा विद्युतीय मतदानयन्त्रमा नामावली मिलाउन थप समय लागेको सुब्बाले जानकारी दिए। भृकुटीमण्डपको हल बुधवार बिहानसम्मका लागि मात्रै भाडामा लिइएकाले आवश्यक परे मतगणना पार्टी कार्यालयमा सार्ने सम्भावना पनि रहेको छ।
एमाले महाधिवेशनका लागि देशभरि तथा प्रवासस्थित पार्टी सङ्गठनबाट २,२०० भन्दा बढी प्रतिनिधि काठमाडौँ आएका छन् । यस महाधिवेशनमा अघिल्लो महाधिवेशनबाट निर्वाचित पाँच जना पदाधिकारी नेतृत्वको दौडबाट बाहिरिएका छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली उम्मेदवार नबन्ने घोषणा गरेका छन् भने उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भइसकेको छ। उपमहासचिव प्रदीप ज्ञवाली महासचिवको दाबीबाट पछि हट्दै केन्द्रीय सदस्यमा सीमित भएका छन्। सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि थुनामा छन्।
अघिल्लो महाधिवेशनबाट निर्वाचित अन्य १४ जना भने यस पटक पनि विभिन्न पदमा उम्मेदवार बनेका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित १० जना पदाधिकारी ओली समुहबाटै उम्मेदवार छन् भने ईश्वर पोखरेल ओलीका प्रतिद्वन्द्वी बनेका छन्। पोखरेल समुहबाट महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।
नवौँ महाधिवेशनबाट पदाधिकारी बनेका सात जना नेता यस पटक पनि दौडमा छन्। अध्यक्षमा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। विभिन्न पदमा उम्मेदवारी दिँदै केही नेताहरूले गुट परिवर्तन गरेका छन्, जसले महाधिवेशनको प्रतिस्पर्धा थप रोचक बनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend