मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहसंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ ।
छिमेकीद्वारा नै बलात्कारपछि हत्या गरिएकी अंशुको अन्तिम बिदाइमा ठुलो सङ्ख्यामा स्थानीयवासी सहभागी भएका थिए । उनको परिवारजनले दागबत्ती दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रद्धाञ्जली दिँदै आत्माको चीर शान्तिको कामना गरे ।
अंशुको अन्तिम बिदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरू लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत सहभागी भए ।
बिहानैदेखि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आउनेको भीड बाक्लो देखिन्थ्यो। असोज २३ गतेदेखि हराएकी अंशुको सब १८ दिन पछि जङ्गलमा बीभत्स अवस्थामा भेटिएको थियो । लामो अनुसन्धानपश्चात् प्रहरीले अंशुको आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारीलाई गत शुक्रवार पक्राउ गरिसकेको छ ।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म सब नबुझेका परिवारजनले संलग्नलाई पक्राउ गरेपछि सब बुझेर आज उनको दाहसंस्कार सम्पन्न गरिएको हो ।
स्व. अंशुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थानीयहरूले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । दाहसंस्कारपछि परिवारले आफ्नो धार्मिक संस्कारअनुसार काजक्रिया गर्ने जनाइएको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend