काठमाडौँ । सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रर्बधन गरिनुपर्नेमा जोड दिएका छन् ।
ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदा स्थल पाटन दरबार क्षेत्रको शनिवार अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री खरेलले भने, ‘नेपालको ऐतिहासिक, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ ।’
सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान हो भन्दै सम्पदा सहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्ने खाँचो औँल्याए ।
ललितपुरका मुर्त र अमुर्त सम्पदा संरक्षणमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरीको रूपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार बिच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गरे ।
मन्त्री खरेलले विश्व सम्पदाको सूचिमा सूचिकृत ललितपुरको पाटन दरबार क्षेत्र, ऐतिहासिक कृष्ण मन्दिर, पाटन दरबार सङ्ग्रहालको अवलोकन गरे ।
मन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गरे । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend