भारत । नेपाल–भारतको १,८८० किलोमिटर खुला सीमामा तेस्रो मुलुकका नागरिकहरूको अवैध आवतजावत रोक्न दुवै देशका सुरक्षा संयन्त्रले निगरानी कडा बनाएका छन्। सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा गुप्तचर सुचना आदानप्रदानलाई थप प्रभावकारी बनाइएको र नाकाहरूबाट हुण्डरी गर्ने विदेशी नागरिकहरूको अभिलेख व्यवस्थित राख्न दुवै पक्षले निर्देशन दिएको जानकारी दिएका छन् ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) का अनुसार नोभेम्बर १५ मा नेपाल हुँदै भारत प्रवेश गर्न खोजेका दुई जना ब्रिटिस नागरिकलाई रुपइडीहा चेकपोस्टबाट नियन्त्रणमा लिइएको थियो । तीमध्ये एकको मुल पाकिस्तान रहेको खुलासा भएको छ । उनीहरूलाई भिसा बिना भारत प्रवेश गरेको आरोपमा बहराइच अदालतमा पेश गरिएको भारतीय पक्षले जनाएको छ ।
यसअघि पनि नेपाल–भारत सीमा प्रयोग गरी अवैध रूपमा भारत छिर्न खोजेका केही चिनियाँ नागरिकहरू पक्राउ परेका थिए। हालै बहराइचस्थित अदालतले नेपालमार्ग हुँदै भारत प्रवेश गरेकी एक चिनियाँ महिलालाई ८ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
यस्तै, मे महिनामा काठमाडौंस्थित चिनियाँ दुतावासले आफ्ना नागरिकलाई नेपाल–भारत खुला सीमाप्रति सावधानी अपनाउन आग्रह गर्दै अनविज्ञतामा सीमा पार गरे गिरफ्तार वा जेल सजायसमेत हुनसक्ने चेतावनी जारी गरेको थियो ।
नेपालले पनि भारत हुँदै तेस्रो मुलुकका नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्ने घटनाप्रति चासो व्यक्त गर्दै आएको छ । रोहिङ्ग्यासहितका केही शरणार्थी भारतीय भुभागमार्ग हुँदै नेपाल आएको विषय नेपालले बारम्बार भारतसमक्ष उठाउँदै आएको गृह मन्त्रालयका सहप्रवक्ता रविन्द्र आचार्यले बताए। उनका अनुसार, “दुवै देशबीच गुप्तचर सुचनाको आदानप्रदान र सीमा नाकामा निगरानी बढाउने सहमति छ।”
सीमा सुरक्षामा खटिएका अधिकारीहरूका अनुसार खुला सीमाका कारण अनविज्ञतामा सीमा पार गर्नेहरूलाई आवश्यक जानकारी र समझाइबुझाइ दिइन्छ भने नियतवश अवैध प्रवेश गर्नेहरूलाई सम्बन्धित देशको कानुनअनुसार कारबाही गरिन्छ।
हाल नेपाल–भारत सीमामा शसस्त्र प्रहरीले करिब २५० बोर्डर आउटपोस्टमार्फत् सुरक्षा दिइरहेको छ, जसमा प्रत्येक चौकीमा करिब ३५ जना सुरक्षाकर्मी तैनाथ हुने गर्छन्। शसस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, “अनविज्ञतामा सीमा काट्न खोजेमा हामीले तत्काल अवगत गराउँछौँ, तर नियतवश गरिएको अवैध प्रवेशमा भने दुवै देशका कानुन लागु हुन्छ।”
भारतले हाल लागू गरेको नयाँ अध्यागमन तथा विदेशी नागरिक सम्बन्धी कानुनअनुसार भिसा वा राहदानीबिना भारत प्रवेश गरे जेल सजायदेखि भारी जरिवाना पनि हुन सक्छ। भारतीय गृह मन्त्रालयका अनुसार, एसएसबीले २०२३/२४ मा मात्र ५८ जना तेस्रो मुलुकका नागरिकलाई अवैध प्रवेशको आरोपमा नियन्त्रणमा लिएको थियो।
नेपालको अध्यागमन ऐन २०४९ अनुसार राहदानी र भिसा बिना नेपाल प्रवेश गर्न नपाइने व्यवस्था छ। जाली कागजात प्रयोग गरे पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ। भिसा बिना आएको भेटिएमा अनुसन्धानपछि निष्कासन वा जरिवाना लिएर प्रवेश नियमित गर्न सकिने व्यवस्था छ।
अध्यागमन विभागका निर्देशक टिकराम ढकालका अनुसार, “नाका छली आउनेहरूमाथि जरिवाना गर्छौँ र नियमानुसार प्रवेश अनुमति दिन्छौँ। भारत हुँदै आउने तेस्रो मुलुकका नागरिकलाई भने त्यहाँको अध्यागमनबाट प्रस्थान अनुमति लिएपछि मात्र नेपाल प्रवेश दिन्छौँ,” ढकालले बताए।
भारतीय पक्षले खुला सीमाको दुरुपयोग गर्दै भारतको सुरक्षामा चुनौती आउने गतिविधिबारे नेपाललाई समय–समयमा सतर्क गराउँदै आएको पनि अधिकारीहरूले जनाएका छन्।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend