कोलोराडो । ट्रान्सपोर्टेसन सेक्युरिटी एजेन्सी (TSA) ले रियल आईडी वा पासपोर्ट बिना विमानस्थलमा सुरक्षासम्बन्धी चेकपोइन्ट पार गर्न चाहने यात्रुले अमेरिकामा आगामी फेब्रुअरी १ देखि ४५ डलर तिर्नुपर्ने घोषणा गरेको छ । यसअघि प्रस्ताव गरिएको शुल्क १८ डलर थियो, तर अन्तिम निर्णयमा शुल्क बढाइएको हो ।
यो शुल्क रियल आईडी कार्यान्वयनको अर्को चरण अन्तर्गत लागु हुन लागेको हो । रियल आईडी नभएका यात्रुले चेकपोइन्ट पार गर्नुअघि आफ्नो पहिचान बायोमेट्रिक वा बायोग्राफिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रमाणित गराउनु पर्ने TSA ले बताएको छ ।
TSA का सुरक्षा संचालन उप–कार्यकारी सहायक प्रशासक स्टिभ लोरेन्जका अनुसार प्रणाली आधुनिकीकरण तथा सुरक्षा सुनिश्चितताका कारण शुल्क आवश्यक परेको हो । TSA का अनुसार यो शुल्क परिचालन तथा प्रविधिगत खर्च ब्यहोर्न प्रयोग गरिनेछ, जसले करदातालाई अतिरिक्त भार नपरोस् भन्ने उद्देश्य राखिएको छ ।
रियल आईडी नभएका यात्रुले TSA.gov मा गएर अनलाइनमार्फत पहिचान प्रमाणिकरण तथा शुल्क भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन् । प्रक्रिया सामान्यतया १० देखि १५ मिनेट लाग्ने भए पनि कहिलेकाहीँ ३० मिनेट वा बढी समय पनि लाग्न सक्छ । प्रक्रिया पुरा गरिएका यात्रुले TSA अधिकृतलाई देखाउन इमेलमा प्राप्त पुष्टि पत्र प्रस्तुत गर्नुपर्नेछ ।
तर, TSA ले अनलाइन पहिचान प्रमाणिकरण पुरा गरेपछि पनि सबै यात्रु चेकपोइन्ट पार गर्न सक्ने ग्यारेन्टी नहुने चेतावनी दिएको छ। TSA ले पहिचान सत्यापन गर्न नसकिएको अवस्थामा यात्रा अनुमति नदिइने बताएको छ ।
चेकपोइन्टमा स्वीकार्य पहिचानपत्र बिना पुगेका यात्रुलाई लाइनबाट बाहिर निकालेर अनलाइन प्रक्रिया पुरा गर्न पठाइनेछ। हराएको वा चोरी भएको रियल आईडी वा पासपोर्ट भएकाले पनि समान शुल्क तिर्नुपर्नेछ ।
एकपटक पहिचान प्रमाणित भएपछि उक्त अनुमति अधिकतम १० दिनका लागि मान्य हुने छ। १० दिनपछि रियल आईडी बिना फेरि यात्रा गर्दा पुनः शुल्क तिर्नुपर्ने TSA ले जनाएको छ। एजेन्सीका अनुसार अहिले करिब ९४ प्रतिशत यात्रुहरूले रियल आईडी वा उपयुक्त पहिचान प्रयोग गरिरहेका छन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend