कोलोराडो । विश्वभरि करोडौँ मानिसलाई सताइरहेको तल्लो ढाड तथा कम्मर दुखाइलाई कम गर्न सहज र बसामै गर्न मिल्ने ‘सीटेड साल्सा’ नामको व्यायाम उपयोगी देखिएको छ। विशेषज्ञहरूका अनुसार पेल्भिसलाई दायाँ–बायाँ हल्का घुमाउने यो चालले ढाडका कडा भएका मांसपेशीहरूलाई फुकाउन मद्दत गर्छ।
म्यान्चेस्टर मेट्रोपोलिटन युनिभर्सिटीका अनुसन्धानकर्ताले तल्लो ढाड दुख्ने बिरामीहरूलाई इलेक्ट्रोमायोग्राफी (इएमजी) सेन्सरमार्फत अध्ययन गर्दा, हरेक ३० मिनेटमा एक मिनेट ‘सीटेड साल्सा’ दोहोर्याउँदा मांसपेशीहरूको तनाव घट्ने र दुखाइका लक्षणमा कमी आउने पुष्टि भएको छ।
यो व्यायाम कामका बीचमा उठ्न नसक्ने कर्मचारी, ज्येष्ठ नागरिक तथा शल्यक्रियाबाट फर्किएकाहरूका लागि विशेष लाभदायी मानिएको छ। बस्ने ठाउँमै खुट्टा स्थिर राखेर दायाँ–बायाँ बारी–बारी पेल्भिस चलाउने यो साधारण अभ्यासले ढाड–कम्मर दुखाइ दीर्घकालीन रूपमा घटाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend