बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

संसद् पुनःस्थापनाका मागसँगै एमालेले निर्वाचन तयारी पनि तीव्र बनायो

संसद् पुनःस्थापनाका मागसँगै एमालेले निर्वाचन तयारी पनि तीव्र बनायो

कांग्रेस पनि संसद् पुनःस्थापनाको विकल्पमा सक्रिय

27
Shares
27
Shares

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुका साथै नेकपा (एमाले) ले फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता समेत गराएको छ। एउटै दिन दुईवटै प्रकृतिका कदम चालेर एमालेले ‘पुनःस्थापना भए ठीक, नभए निर्वाचन’—दुवै विकल्प सँगै अघि बढ्ने नीति लिएको देखिन्छ ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल सर्वोच्च अदालतमा उपस्थित भई संसद् पुनःस्थापनाका लागि रिट दर्ता गरे। असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएको दाबी गर्दै बर्तौलाले संसद् पुनःस्थापना अनिवार्य रहेको बताए।

यता, निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव भीष्म अधिकारीले आयोगमा दल दर्ता गराए। आचार्यका अनुसार, चुनाव जब भए पनि दल दर्ता आवश्यक भएकाले निर्वाचन प्रयोजनअन्तर्गत दर्ता गरिएको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले सबै दल निर्वाचनका तयारीमा लागेकाले निर्वाचनको वातावरण बनेको टिप्पणी गरे। सुरक्षा योजना, मतदाता नामावली अद्यावधिक तथा आवश्यक पुर्वतयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंगलबारसम्म दल दर्ता गराउनेको संख्या ८० पुगेको छ। आयोगले आज (बुधबार)सम्म दल दर्ताको म्याद तोकेको छ। विदेशस्थित नेपालीलाई मतदानमा सहभागी गराउनेबारे पनि सरकार र आयोगबीच गम्भीर छलफल जारी छ।

आयोगका अनुसार आगामी माघ ६ गते मनोनयन दर्ता हुने गरी निर्वाचन कार्यतालिका तयार भइसकेको छ। आयोगले करिब ६० प्रतिशत पुर्वतयारी सम्पन्न भएको बताएको छ।

कांग्रेस पनि संसद् पुनःस्थापनाको विकल्पमा सक्रिय
यद्यपि औपचारिक रूपमा कांग्रेसले फागुन २१ का लागि तोकिएको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ, पार्टी भित्र भने संसद् पुनःस्थापना गर्ने कानुनी विकल्प पनि सक्रिय रूपमा तयार भइरहेको देखिएको छ।

पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार कांग्रेस उच्चस्तरमा निरन्तर छलफलमा छ। चुनाव हुने वातावरण अझै स्पष्ट नभएकाले ‘चुनाव नहुने’ सम्भावनालाई ध्यानमा राखेर पुनःस्थापनाको कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए।

उनका अनुसार, मुलुकलाई अनिश्चितता र राजनीतिक दुर्घटनाबाट जोगाउन कांग्रेसले वैकल्पिक तयारी गर्नुपर्ने बाध्यता रहेको छ। ‘चुनाव भएन भने कांग्रेस चुप बस्दैन, संविधानले दिएको बाटो अघि बढाएर प्रतिनिधिसभा पुनःस्थापनाको उपाय खोज्छ,’ घिमिरेले टिप्पणी गरे।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend