काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विदेशमा रहेका नेपाली विद्यार्थीलाई अनलाइनमार्फत अध्ययन गर्न सक्ने सुविधा उपलब्ध गराउने तयारी गरेको छ। बुधवार त्रिवि सभामा पेस हुने नीति तथा कार्यक्रममा प्रयोगात्मक कक्षा नपर्ने विषयहरू सम्बन्धित क्याम्पसमार्फत अनलाइन शिक्षण–शिक्षण गर्ने प्रावधान समावेश गरिएको छ।
अनलाइन कक्षामा अध्ययन गर्ने विदेशस्थित विद्यार्थीहरूको परीक्षा भने नेपाली दुतावाससँगको समन्वयमा भौतिक उपस्थितिमार्फत सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ।
त्रिविका अनुसार अध्ययन पुरा गरी शैक्षिक उपाधिसहित स्वदेश फर्किने नेपाली नागरिकले आर्थिक तथा शैक्षिक दुवै लाभ पाउने अपेक्षा गरिएको छ। नेपाल खुला विश्वविद्यालयले पहिलेदेखि नै स्वदेश तथा विदेशमा रहेका विद्यार्थीलाई अनलाइन पठनपाठन र अनलाइन परीक्षा सुविधामा सञ्चालन गर्दै आएको छ। कोभिड–१९ महामारीका समयमा अन्य विश्वविद्यालयहरूले पनि अनलाइन कक्षा तथा परीक्षा सञ्चालन गरेका थिए।
बुधवार बिहान ११ बजे प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्ने त्रिवि सभा (सिनेट) बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ। यसअघि मंगलबार प्रि–सिनेट बैठकमा सो नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भइसकेको छ।
त्यसै गरी, त्रिविको ब्रान्ड प्रवर्द्धन र आर्थिक स्रोत आर्जनका लागि लोगो अंकित स्मारिका, उपहार, उपकरण, लत्ताकपडालगायत विभिन्न सामग्री उत्पादन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ। विश्वविद्यालयका संस्थान, संकाय, क्याम्पस, विभाग तथा अन्य निकायहरूमा प्रदान हुँदै आएका शिक्षक तथा कर्मचारीका सुविधामा समानता र प्रभावकारिता ल्याउन उच्चस्तरीय समिति गठन गर्ने व्यवस्था समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend