भरतपुर । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि ‘धुर्मुस–सुन्तली फाउन्डेसन’लाई भुक्तानी गर्न कानुनी बाधा भएको जनाएको छ।
सङ्घीय सरकारले रु १५ करोड विनियोजन गरे पनि सो रकम “सार्वजनिक खरिद ऐन” अनुसार मात्रै खर्च गर्न मिल्ने भएकाले भुक्तानी प्रक्रिया रोकिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए। उनका अनुसार फाउन्डेसनले रङ्गशाला निर्माण सार्वजनिक खरिद नियम अनुसार नगरेकाले नीति र कानुनका कारण रकम दिन नमिल्ने स्थिति बनेको हो।
महानगर प्रमुख रेनु दाहालले कानुनी प्रक्रिया पूरा नभए भुक्तानी सम्भव नभएको बताउँदै समस्या समाधानका लागि अर्थ र खेलकुद मन्त्रालयसँग पत्राचार गरिएको जानकारी दिइन्। उपप्रमुख चित्रसेन अधिकारीले महानगर भुक्तानी दिने पक्षमा भए पनि कानुनी अड्चनकै कारण रोकिएको स्पष्ट पारे।
महानगरले फाउन्डेसनको पहलमा सुरू भएको रङ्गशाला निर्माणलाई २०८० सालदेखि प्रदेश सरकारसँग मिलेर अगाडि बढाइरहेको छ। हाल समग्र कामको ४५ प्रतिशत पूरा भइसकेको जनाएको छ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend