काठमाडौं । सिमरामा बुधवार र बिहीबार चलेको जेन–जी आन्दोलनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोपपछि बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई फिर्ता गरिएको छ। जेन–जी समुहले उनीमाथि कडा आपत्ति जनाउँदै लामो समयदेखि दबाब दिइरहेका थिए ।
तर, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेको भनाइ भने फरक छ। उनका अनुसार ११ महिनाको कार्य अवधि पुरा भएपछि संगठनात्मक परिपत्रअनुसार एसपी तामाङलाई प्रहरी मुख्यालयमा काज सरुवा गरिएको हो ।
यसैबीच, धादिङका प्रहरी प्रमुख भेषराज रिजाललाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका लागि काजमा पठाइएको छ। बारामा एसपी नरेन्द्र कुँवर र धादिङमा एसपी सुमित खड्का खटाइएका छन्।
सिमरा घटनापछि जेन–जी अभियन्ता सुधन गुरुङले गृहमन्त्रीमाथि खुलेआम आलोचना गरेपछि आन्दोलनकारीहरूको आक्रोश कम गर्न एसपी फिर्ता गरिएको प्रहरी स्रोतको दाबी छ । धादिङका एसपी रिजालको काज सरुवा भने कार्य–मुल्यांकनका आधारमा भएको प्रवक्ता काफ्लेले स्पष्ट पारे ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend