बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकामा ४० प्रतिशत युवा महिलाको स्थायी रूपमा देश छोड्ने इच्छा: नयाँ ग्यालप सर्वेक्षण

अमेरिकामा ४० प्रतिशत युवा महिलाको स्थायी रूपमा देश छोड्ने इच्छा: नयाँ ग्यालप सर्वेक्षण

71
Shares
71
Shares

वाशिङ्टन डीसी — अमेरिकाको नयाँ ग्यालप सर्वेक्षण (new Gallup poll) ले चकित पार्ने तथ्य सार्वजनिक गरेको छ । सर्वेक्षणअनुसार १५ देखि ४४ वर्ष उमेर समुहका ४० प्रतिशत अमेरिकी युवा महिलाले अवसर पाएको खण्डमा अमेरिकाबाट स्थायी रूपमा बाहिरिन चाहेको बताएका छन्। दुई वर्षअघिको २९ प्रतिशतबाट यो अनुपात एकाएक ४० प्रतिशतमा उक्लिएको हो ।

सर्वेक्षणमा सहभागी सबै अमेरिकीमध्ये करिब पाँच जनामध्ये एक (२० प्रतिशत) ले पनि देश छोड्ने इच्छा रहेको बताएका छन् । सर्वेक्षणमा सहभागीहरूसँग सोधिएको मुख्य प्रश्न थियो- “यदि तपाईंलाई अवसर मिल्यो भने, के तपाईं स्थायी रूपमा अर्को देशमा बसाइँ सर्न चाहनुहुन्छ, वा अमेरिकामै बसिरहन चाहनुहुन्छ ?”

उमेर र लैंगिक आधारमा ठुलो अन्तर
युवा उमेरका महिलामा विदेशिन चाहने प्रवृत्ति निकै उच्च देखिएको छ। १५–४४ उमेरका ४० प्रतिशत महिलाले अमेरिका छोड्न चाहे पनि सोही उमेर समूहका पुरुषमा यो संख्या १९ प्रतिशत मात्र रहेको छ । ४५ वर्षभन्दा माथि उमेर पुगेका महिलामा १६ प्रतिशत र पुरुषमा केवल ८ प्रतिशतले मात्र विदेश जाने चाहना व्यक्त गरेका छन्।

अमेरिकामा अहिलेसम्मकै सबैभन्दा ठुलो लैंगिक अन्तर
ग्यालपका अनुसार युवा पुरुष (१९%) र युवा महिला (४०%) बीचको २१ प्रतिशत अंकको यो अन्तर अहिलेसम्म अमेरिकी सर्वेक्षणमा रेकर्ड गरिएको सबैभन्दा ठुलो फरक हो । ग्यालपले २००७ देखि विश्वभरि यस विषयमा अध्ययन गर्दै आएको छ । संस्थाका अनुसार २०२५ को अमेरिकी तथ्याङ्कभन्दा अगाडि कुनै पनि देशमा युवा पुरुष र महिलाबीच विदेशिन चाहने मनोवृत्तिमा २० प्रतिशत वा सोभन्दा बढीको अन्तर देखिएका थिएनन् ।

ग्यालपले अझै थप्दै भनेको छ कि “देश छोड्ने इच्छा व्यक्त गर्नु वास्तविक रूपमा छोड्ने निर्णयमा रूपान्तरण नहुन पनि सक्छ,” अर्थात् चाहना र व्यवहारबीचको दुरी उल्लेख्य रहने बताइन्छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend